बारा । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले जीतपुरसिमरा–१ स्थानीयवासी आक्रोशित बनेका छन्।
दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै स्थानीयले बुधबार बिहानदेखि पथलैया–वीरगन्ज सडकखण्डमा प्रदर्शन गरेका छन्।
स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरेपछि केही समय सवारी आवागमन प्रभावित भएको छ। घटनामा संलग्नलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने भन्दै प्रदर्शनकारीले कडा कानुनी कारबाहीको माग गरेका छन्।
साउन ३१ गते बिहानदेखि हराइरहेकी गरिमाको शव मंगलबार साँझ एक खाली घरभित्र फेला परेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बालिकालाई चकलेटको प्रलोभन देखाएर जबर्जस्ती करणी गरी हत्या गरिएको खुलेको जनाइएको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले म्याजिकका सहचालक सुमन थापा र सवारीधनी प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सडकमा प्रदर्शन सुरु भएपछि स्थिति नियन्त्रणमा लिन र यातायात सहज बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

