वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयमा आधिकारिक कर्मचारी नरहेका व्यक्तिहरू कार्यालयभित्रै बसेर कामकाजमा संलग्न भएको आरोप सार्वजनिक भएपछि कार्यालयको पारदर्शिता, सेवा प्रवाह र सुशासनमाथि प्रश्न उठेको छ।
कार्यालयमा अनधिकृत व्यक्तिको उपस्थिति तथा सेवाग्राहीसँग सम्बन्धित काममा उनीहरूको संलग्नताबारे सञ्चारकर्मीले पटक–पटक प्रश्न उठाउँदै जानकारी माग्न खोज्दा सम्बन्धित पक्ष पन्छिन खोजेको आरोपसमेत लागेको छ। कार्यालयभित्र भइरहेका गतिविधिबारे स्पष्ट जानकारी दिनुको सट्टा प्रश्नबाट बच्न खोजिएको भन्दै कार्यालयको पारदर्शितामाथि थप प्रश्न उठेको हो। भित्री स्रोतका अनुसार अमरदेव साह सोनार नामका व्यक्ति कार्यालयका आधिकारिक कर्मचारी नभए पनि कर्मचारी जितेन्द्रसँग बसेर विभिन्न प्रशासनिक काममा संलग्न हुँदै आएका छन्। कार्यालयभित्र बाह्य व्यक्तिको यस्तो पहुँचले सेवाग्राही तथा सरोकारवालामाझ समेत शंका उत्पन्न गरेको स्रोतको दाबी छ।
यस्तै, कार्यालयको ७ नम्बर फाँटमा दिपेन्द्र र ५ नम्बर फाँटमा राधेश्याम नामका व्यक्तिहरू बिचौलियाका रूपमा सक्रिय रहेको आरोपसमेत लागेको छ। आधिकारिक कर्मचारीबाहेकका व्यक्तिहरू कार्यालयका विभिन्न फाँटमा बसेर सेवाग्राहीका काममा संलग्न भएको विषयले कार्यालयको सेवा प्रवाह तथा प्रशासनिक पारदर्शितामाथि प्रश्न उठाएको छ। यसैबीच, कार्यालयमा सवारीसम्बन्धी विभिन्न काममा तोकिएको शुल्कभन्दा बढी रकम असुली हुने गरेको आरोपसमेत सार्वजनिक भएको छ। स्रोतका अनुसार भारतीय सवारीसाधनसम्बन्धी सेवामा पाँच सय रुपैयाँ शुल्क लिने भनिएको स्थानमा पटक–पटक ७–८ सय रुपैयाँसम्म रकम लिने गरिएको दाबी गरिएको छ।
यस विषयमा सञ्चारकर्मीले सम्बन्धित पक्षसँग पटक–पटक प्रश्न गर्दै जानकारी लिन खोजे पनि स्पष्ट जवाफ नदिइएको बताइएको छ। कार्यालयमा हुने भनिएका अनियमितता तथा अतिरिक्त रकम असुलीबारे प्रश्न उठाउँदा सम्बन्धित पक्षले बेवास्ता गरेको आरोपसमेत लागेको छ। कार्यालयमा अनधिकृत व्यक्तिको प्रवेश, बिचौलियाको सक्रियता तथा सेवाग्राहीबाट तोकिएको शुल्कभन्दा बढी रकम असुली हुने गरेको आरोपबारे सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग उठेको छ। कार्यालयको सेवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन अनधिकृत व्यक्तिको प्रवेशमा रोक लगाउनुपर्ने तथा सेवाग्राहीसँग प्रत्यक्ष सरोकार राख्ने फाँटमा आधिकारिक कर्मचारीबाट मात्रै काम गराउनुपर्ने आवश्यकता देखिएको छ।

