रातभरको खोजीपछि सकुशल नालामा भेटिइन् बेपत्ता २ वर्षीया बालिका

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट
फोटो-एआइ

कलैया । बाराको कलैया उपमहानगरपालिका–१ कटिपर्साबाट शनिबार साँझ हराएकी २ वर्षीया बालिका बिन्दी मण्डल करिब १२ घण्टापछि सकुशल फेला परेकी छन्।
घरबाट बालिका बेपत्ता भएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी रातभर खोजी गरेको थियो।
खोजीका क्रममा आइतबार बिहान कलैया–२६ सिसवा महेशपुरमा सडक छेउको नालामा रोइरहेको अवस्थामा स्थानीय एक महिलाले बालिकालाई देखेकी थिइन्। उनले तत्काल नालाबाट बालिकालाई उद्धार गरी आफ्नै घरमा लगेर हेरचाह गरेकी थिइन्।
पछि प्रहरी टोलीले बालिकालाई आफ्नो नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याएको थियो। अस्पतालमा गरिएको परीक्षणबाट बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
स्वास्थ्य परीक्षणपछि बालिकालाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बालिका सकुशल भेटिएपछि परिवारमा खुसी फर्किएको छ भने घटनाले केही समय स्थानीय क्षेत्रमा समेत चिन्ता बढाएको थियो।

Leave a Comment