कोलम्बो, शनिबार, माघ २४, २०८२ : भारत र श्रीलंकाको संयुक्त आयोजनामा सुरु भएको आईसीसी टी–२० विश्वकपमा पाकिस्तानले विजयी सुरुआत गरेको छ। उद्घाटन खेलमा नेदरल्यान्ड्सलाई ३ विकेटले पराजित गर्दै पाकिस्तानले आत्मविश्वासपूर्ण सुरुआत गरेको हो।
श्रीलंकाको कोलम्बोस्थित सिन्हालेस स्पोर्ट्स क्लब मैदानमा शनिबार सम्पन्न खेलमा नेदरल्यान्ड्सले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले ३ बल बाँकी रहँदा ७ विकेट गुमाएर पूरा गर्यो।
पाकिस्तानको जितमा ओपनर साहिबजादा फरहानले सर्वाधिक ४७ रनको योगदान दिए। फहिम असरफ २९ रनमा अविजित रहे। सैम अयुबले २४ रन जोडे भने बाबर आजम १५ र कप्तान सलमान आगा १२ रनमै आउट भए।
बलिङतर्फ नेदरल्यान्ड्सका आर्यन दुत र पाउल भान मिकेरेनले समान दुई–दुई विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।
यसअघि टस जितेर पाकिस्तानले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्स १९.५ ओभरमा १ सय ४७ रनमै समेटियो। नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३७ रन बनाए। बास डे लिडले ३०, माइकल लेविटले २४ र कोलिनले २० रनको योगदान दिए।
पाकिस्तानका बलरमध्ये सलमान मिर्जाले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। मोहम्मद नवाज, अवरार अहमद र सैम अयुबले समान दुई–दुई विकेट आफ्नो नाममा लेखाए।
विश्वकपअन्तर्गत शनिबार नै अन्य खेलहरूमा वेस्ट इन्डिज र स्कटल्यान्ड तथा आयोजक भारत र अमेरिका आमनेसामने हुँदै छन्। प्रतियोगिताको अर्को खेल आइतबार नेपाल र इंग्ल्याण्डबीच हुने कार्यक्रम छ।

