बुधबार बिहान रसुवामा आएको भोटेकोसी नदीको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीले टिमुरेसहितका बजार, रसुवा भन्सार क्षेत्र, नयाँ पुल, प्रहरी कार्यालय तथा जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण आएको छ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार लेन्दे खोला (भोटेकोसी)मा आएको बाढीले टिमुरे र आसपासका दुई बजार तहसनहस पारेको छ। रसुवा भन्सार क्षेत्रमा राखिएका ठूलो संख्याका नयाँ गाडी तथा अन्य सामग्रीसमेत बाढीले बगाएको छ।
गत वर्षको बाढीपछि भर्खरै निर्माण सम्पन्न गरिएको नयाँ पुलसमेत यसपटकको बाढीले बगाएको अधिकारीले जानकारी दिएका छन्।
२८ प्रहरी सम्पर्कविहीन
बाढीपछि रसुवामा नेपाल प्रहरीका १९ जना र सशस्त्र प्रहरीका ९ जना गरी २८ जना प्रहरी सम्पर्कविहीन भएका छन्।
बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार रसुवागढी प्रहरी चौकीमा कार्यरत २२ प्रहरीमध्ये ९ जना मात्र सम्पर्कमा आएका छन् भने १३ जना सम्पर्कविहीन छन्। स्याफ्रुबेसीमा कार्यरत ९ प्रहरीमध्ये ३ जना सम्पर्कमा आएका छन् भने ६ जना सम्पर्कविहीन छन्। त्यस्तै, टिमुरे बीओपीमा कार्यरत ९ जना सशस्त्र प्रहरी पनि सम्पर्कविहीन छन्।
बाढीले प्रहरी कार्यालयसमेत बगाएको छ। प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ। नेपाली सेनाले खोज तथा उद्धारका लागि हेलिकप्टरसहितको टोली परिचालन गरेको छ भने अस्पतालमा स्वास्थ्यकर्मीसहितको टोली खटाइएको छ।
त्रिशूली आसपासका बस्ती खाली गर्न आग्रह
भोटेकोसीमा आएको बाढी त्रिशूली नदीतर्फ बढेपछि बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदी छेउछाउका बस्ती तथा बजार क्षेत्र खाली गर्न आग्रह गरेको छ।
महाशाखाका अनुसार बाढी धादिङको गल्छी आसपास पुगिसकेको र केही घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेकाले पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडक तथा त्रिशूली नदी आसपासका बस्तीमा उच्च सतर्कता अपनाउन भनिएको छ।
स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान तथा नदी किनारबाट टाढा रहन आग्रह गरिएको छ।
३०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनामा क्षति
भोटेकोसीको बाढीले रसुवा तथा त्रिशूली नदी तटीय क्षेत्रमा रहेका ३०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुर्याएको प्रारम्भिक अनुमान ऊर्जा मन्त्रालयले गरेको छ।
मन्त्रालयका अनुसार रसुवागढी १११ मेगावाट, चिलिमे २२ मेगावाट, त्रिशूली–३ ‘ए’ ६० मेगावाट, त्रिशूली–३ ‘बी’ ३७ मेगावाट, मैलुङ १४ मेगावाट र त्रिशूली–बेनीघाट ३५ मेगावाटका आयोजनामा क्षति पुगेको छ।
त्यस्तै ५७ मेगावाट क्षमताको माथिल्लो साञ्जेन तथा साञ्जेन जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्याएको प्रारम्भिक विवरण छ। विद्युत्गृह तथा सबस्टेसनमा समेत क्षति पुगेको बताइएको छ।
तर, बाढी अझै जारी रहेकाले आयोजनामा भएको वास्तविक क्षतिको विवरण संकलन गर्न कठिन भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ। आयोजनामा कार्यरत कर्मचारीहरूको अवस्थाबारे पनि विवरण संकलन भइरहेको छ।
१२ हेलिकप्टरबाट उद्धार
बाढी प्रभावितको उद्धारका लागि सरकारले १२ वटा हेलिकप्टर परिचालन गरेको छ। नेपाली सेनाका चार र निजी क्षेत्रका आठ हेलिकप्टर उद्धार कार्यमा खटिएका छन्।
नेपाली सेनाका अनुसार स्याफ्रुबेसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी १२ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्तिहरूलाई त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा नेपाली सेनाको स्वास्थ्य टोलीले आकस्मिक उपचार गरिरहेको छ।
सेनाले धुन्चे, रसुवा र धादिङको गजुरीबाट खोज तथा उद्धार टोली परिचालन गरेको छ। नुवाकोट र रसुवातर्फ थप उद्धार तथा स्वास्थ्यकर्मीसहितका हेलिकप्टर टोली पठाइएको छ।
बाढी प्रभावित क्षेत्रको खोज, उद्धार तथा राहतका लागि धादिङ, नुवाकोट, रसुवा र चितवनका सुरक्षा निकायसमेत परिचालन गरिएको छ। उद्धारमा खटिएका हेलिकप्टरमा इन्धन अभाव नहोस् भनेर नेपाल आयल निगमले नुवाकोटको त्रिशूलीमा हवाई इन्धनसहितको ट्यांकर पठाएको छ।
प्रधानमन्त्रीको उच्चस्तरीय बैठक
रसुवामा बाढीले पुर्याएको क्षतिको समीक्षा तथा उद्धार र राहतका लागि आवश्यक कदमबारे छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ।
बैठकमा बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे जानकारी गराइएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले प्रभावित नागरिकको तत्काल उद्धार, खोज तथा राहत कार्यमा आ–आफ्नो जिम्मेवारीअनुसार परिचालन हुन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
सरकारले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई प्राथमिकतामा राख्दै सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा हवाई उद्धार टोलीलाई परिचालन गरेको जनाएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने उद्धार तथा खोजी कार्य अघि बढेपछि मात्र स्पष्ट हुने बताइएको छ।
रसुवामा भोटेकोसीको भीषण बाढी : बजार, भन्सार, पुल र जलविद्युत् आयोजनामा ठूलो क्षति, २८ प्रहरी सम्पर्कविहीन
Leave a Comment
Leave a Comment

