प्रधानमन्त्री शाहको कालो चस्माबारे संसद् सचिवालयमा स्वास्थ्य रिपोर्ट

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संसद् बैठकमा कालो चस्मा प्रयोग गर्ने विषयमा स्वास्थ्यसम्बन्धी प्रमाण संसद् सचिवालयमा पुगेको छ।
संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री शाहको आँखाको परीक्षणसँग सम्बन्धित रिपोर्टसहितको पत्र सचिवालयमा प्राप्त भएको हो।
यसअघि सभामुख डोलप्रसाद अर्याल (डीपी) ले संसद् परिसरमा कालो चस्मा प्रयोग गर्ने विषयमा स्वास्थ्य कारण भए त्यसको प्रमाण प्रस्तुत गर्नुपर्ने बताएका थिए। त्यसपछि प्रधानमन्त्री शाहको स्वास्थ्य परीक्षणसम्बन्धी विवरण सचिवालयमा पठाइएको हो।
शाहले गत साउन २२ गते छाउनी अस्पतालमा आँखाको परीक्षण गराएका थिए। परीक्षणका क्रममा प्रत्यक्ष रूपमा उज्यालो प्रकाश हेर्दा आँखामा समस्या हुने देखिएपछि चिकित्सकले कालो चस्मा प्रयोग गर्न सुझाव दिएको बताइएको छ। सोसम्बन्धी रिपोर्ट साउन २६ गते संसद् सचिवालयमा पठाइएको थियो।
प्रधानमन्त्री शाह बुधबार प्रतिनिधिसभामा हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदैछन्। कार्यक्रममा ११ जना सांसदले प्रधानमन्त्रीसँग विभिन्न विषयमा प्रश्न राख्ने भएका छन्।
प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि सांसदले आफ्नो प्रश्नको विषय बैठक बस्नुभन्दा तीन दिनअघि सभामुखलाई लिखित रूपमा जानकारी गराउनुपर्छ। यही व्यवस्थाअनुसार भदौ ५ गतेसम्म प्रश्न दर्ता गर्न समय दिइएको थियो।
निर्धारित समयभित्र ११ सांसदले प्रश्न दर्ता गरेका छन्। प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम संसद् बैठकको पहिलो एक घण्टामा सञ्चालन गर्ने व्यवस्था छ।
नियमावलीले आवश्यकताअनुसार यस्तो कार्यक्रम सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था पनि गरेको छ। स्वास्थ्य परीक्षणको रिपोर्ट संसद् सचिवालयमा पुगेपछि बुधबारको कार्यक्रममा प्रधानमन्त्री शाहले कालो चस्मा प्रयोग गर्ने विषय स्पष्ट भएको छ।

Leave a Comment