रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, सुरक्षित स्थानान्तरण र राहत वितरणलाई थप प्रभावकारी बनाउने सरकारले निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपछि उत्पन्न परिस्थितिको समीक्षा गर्दै उद्धार तथा राहतका कामलाई तीव्रता दिने निर्णय गरेको कानुनमन्त्री सोविता गौतमले जानकारी दिइन्।
सरकारले प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्ने, राहत सामग्री उपलब्ध गराउने तथा आवश्यक स्वास्थ्य सेवा र सूचना–सञ्चारको व्यवस्था मिलाउने कामलाई प्राथमिकतामा राखेको छ।
यसका लागि आवश्यक बजेट व्यवस्थापन, जनशक्ति तथा सुरक्षा निकायको परिचालन, स्वास्थ्य सेवा विस्तार र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलगायत विषयमा सम्बन्धित मन्त्रालयले तत्काल काम अघि बढाउने निर्णय भएको मन्त्री गौतमले बताइन्।
बाढीबाट रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेपछि सरकारले उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई एकीकृत रूपमा अघि बढाउन सम्बन्धित निकायबीच समन्वय बढाउने जनाएको छ।

