काठमाडौँ, ६ पुस । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्वका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा गराइने स्पष्ट पारेकी छन् । वर्तमान सरकारको प्रमुख लक्ष्य नै निर्वाचन सम्पन्न गर्नु रहेको उनको भनाइ छ ।
आइतबार सिंहदरबारमा इलाम क्षेत्र नम्बर २ का निवर्तमान सांसद सुहाङ नेम्वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले सरकार चुनाव गराउनकै लागि गठन भएको बताउँदै सबै राजनीतिक शक्ति तयारी अवस्थामा रहनुपर्ने उल्लेख गरिन् ।
‘हामी असामान्य परिस्थितिमा शान्ति स्थापना र निर्वाचन गराउन जिम्मेवारी लिएर आएका हौँ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘शान्ति सुरक्षा र कानुनको शासन बहालीमा उल्लेखनीय सफलता मिलेको छ । अबको प्राथमिकता भनेको तोकिएकै समयमा चुनाव सम्पन्न गर्नु हो ।’
उनले निर्वाचन भए मात्र देशमा स्थायी शान्ति र स्थायित्व सुनिश्चित हुने धारणा व्यक्त गरिन् ।
भेटका क्रममा नेम्वाङले निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्दै प्रधानमन्त्रीलाई शुभकामना दिएका छन् । ‘सरकार चुनाव गराउन सफल होस् भन्ने हाम्रो कामना छ,’ उनले भने ।
प्रधानमन्त्री कार्कीले नेम्वाङसँग आगामी निर्वाचनमा उम्मेदवार बन्ने तयारीबारे जिज्ञासा राखेकी थिइन् । त्यसको जवाफमा नेम्वाङले आफू चुनावको तयारीमा रहेको बताएका छन् ।
प्रधानमन्त्री कार्कीले युवा पुस्ताले अब नेतृत्वको जिम्मेवारी सम्हाल्नुपर्नेमा जोड दिँदै भनिन्, ‘चुनाव हुन्छ, तयारीमा रहनुहोस् । अब देशको बागडोर युवाको हातमा जानुपर्छ । अनुभवको सम्मान आवश्यक छ तर नेतृत्व युवा पुस्ताले नै गर्नुपर्छ ।’
उनले पुरानो पुस्ताको अनुभव उपयोगी भए पनि नयाँ पुस्ताको ऊर्जा, साहस र सोचले मात्र देशलाई अगाडि बढाउन सक्ने उल्लेख गरिन् ।
भेटमा नेम्वाङले इलाम जिल्लामा बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्ग र पुलहरूको शीघ्र पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
जवाफमा प्रधानमन्त्री कार्कीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले स्थलगत अनुगमन गरी फर्किसकेको जानकारी दिँदै सरकार यस विषयमा गम्भीर रहेको बताइन् ।

