१ श्रावण,बारा: बारा जिल्ला अदालतको लेटरप्याड, छाप र दस्तखत किर्ते गर्ने अभियोगमा एक जना पक्राउ परेका छन् ।
जितपुर सिमरा उपमहानगरपालिका १ का मोती धामी थारुका छोरा संजित चौधरी बारा जिल्ला अदालतको लेटरप्याड, छाप, दस्तखत किर्ते अभियोगमा बुधबार पक्राउ परि अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको बारा जिल्ला अदालतका श्रेस्तेदार लाल बहादुर कार्कीले बताउनुभयो ।
वादी बारा जिल्ला कलैया उपमहानगरपालिका १ का पवन साह, प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका १ का चन्द्रिका धामी भएको लेनदेन मुद्दामा बारा जिल्ला अदालतबाट २०७८साल पुस २८ गतेमा भएको आदेश अनुसार मोति धामी थारुको नाम दर्ताको जिल्ला बारा, साविक गा.वि.स. मनहर्वा, वडा नं ४ख, कि.नं. ५४३ को ज.वि. ०–७–० जग्गा मालपोत कार्यालय सिमराबाट रोक्का रही मुद्दा कारवाही हुँदा, उक्त मुद्दा बारा जिल्ला अदालतबाट २०७९ साल असोज २७ गतेमा वादीले प्रतिवादीबाट साँवा व्याज भराई पाउने ठहरी फैसला भएको श्रेस्तेदार कार्कीले बताउनुभयो ।
मोती धामी थारु चन्द्रिका धामीको ठूलो बुबा हुन, उहाँहरु बीचमा अंशवण्डा भएको छैन । अंशण्डा नभएको कारण एकासंगोलको ०–७–० जग्गा लेनदेन मुद्दाबाट रोक्का रहेको थियो ।
उक्त फैसला बमोजिम बारा जिल्ला अदालतको तहसील शाखामा फैसला कार्यन्वयनतर्फ कारवाही चलिरहेको अवस्था छ, उहाँले भन्नुभयो,‘ मुद्दा कारवाही चलिरहेको अवस्थामा वादीले रोक्का गराएको उक्त जग्गाको जग्गाधनी मोति धामी थारुले बारा जिल्ला अदालतको चलानी नम्बर २१९८६ मिति २०८२ साल जेठ ११ गतेको पत्रले फुकुवा गराइ अन्यत्र हस्तान्तरण गरेको वादी पवन कुमारले यस अदालतमा सूचित गरेको उहाँले बताउनुभयो ।
बारा जिल्ला अदालतको चलानी किताव भिडाउदा उक्त चलानी नम्बरबाट जग्गा फुकुवाको लागि पत्राचार नभइ सरकारी वकिल कार्यालयलाई मुद्दा पेशीको सूचना दिएको देखियो उहाँले भन्नुभयो,‘उक्त पत्रबाट रोक्का फुकुवा गराई जग्गा विक्रि गर्ने मोति धामी थारु, जग्गा खरिद गर्ने दिपेन्द्र कुमार गुप्ता समेतलाई अदालतमा झिकाई सोधपुछ गर्दा जग्गा धनी मोति धामी थारुको छोरा संजित चौधरीले वादीलाई साँवा व्याज तिर्नु बुझाउनु नपरोस भन्ने उद्देश्यले फुकुवा पत्र कीर्ते गरेको स्वीकार गरेको उहाँले बताउनुभयो ।
के कुन व्यहोराबाट अदालतको छाप र श्रेस्तेदारको दस्तखत समेत कीर्ते तयार गरेको भनी सोधपुछ गर्दा, यस अदालतका श्रेस्तेदारबाट अन्य कुनै मुद्दाको फुकुवा पत्रमा सहिछाप गरेको पत्रको प्रतिलिपि आफूले फेला पारेको, सोही पत्रमा उल्लेखित व्यहोरासंग मिल्ने गरी फुकुवा व्यहोरा आफैले कम्प्युटरबाट टाइप गरी पत्रमा अंकित भएको लोगो, अदालतको छाप र श्रेस्तेदारको दस्तखत स्क्यान गरी मिलाई पत्र तयार गरी सोही पत्रको आधारमा मालपोत कार्यालय सिमराबाट जग्गा फुकुवा गराई बाबु मोति धामी थारुबाट दिपेन्द्र कुमार गुप्तालाई बिक्री गरेको भनी अभियुक्त चौधरीले स्वीकार गरेको श्रेस्तेदार कार्कीले दावी गर्नुभयो ।
संजित चौधरीले सरकारी छाप, दस्तखत कीर्ते गरेको भनि स्वीकार गरेको कारण किर्ते अभियोगमा सत्य तथ्य छानविन गरी कारवाही प्रक्रिया अगाडी बढाउन जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाइएको उहाँले बताउनुभयो ।
संजित चौधरीलाई प्रहरीको जिम्मा लगाइएपनि मोती धामी थारुलाई उम्काइएको अवस्था छ । जग्गाधनी मोती धामी थारुलाई निजको भतिजो चन्द्रिका धामीले ऋणकर्जा लिई नतिरेको कारण जग्गा रोक्का रहेको कुरा थाहा हुँदा हुँदै अदालतबाट फुकुवा नै नभएको जग्गा बाबु छोरा मिली किर्ते गरी जग्गा फुकुवा गराई अरुलाई विक्री समेत गरिदिएको अवस्था छ । तर पनि अदालतले एक जनालाई मात्र अभियुक्त बनाएर छानविनको लागि पठाएको देखिन्छ ।
बाराका प्रहरी उपरिक्षक संतोष तमाङ्गले सरकारी छाप र दस्तखत किर्ते गर्ने संजित चौधरीमाथि छानविन शुरु गरिएको बताउनुभयो ।
सरकारी छाप र दस्तखत किर्ते गर्ने एक जना पक्राउ
Leave a Comment
Leave a Comment


