काठमाडौं, चैत ५ । इरानले कतारको रास लाफानस्थित प्रमुख ऊर्जा क्षेत्रमा पुनः क्षेप्यास्त्र आक्रमण गरेको छ। बिहीबार बिहान भएको उक्त आक्रमणपछि ग्यास क्षेत्रमा आगलागी भएको र ठूलो भौतिक क्षति पुगेको कतारले जनाएको छ। यद्यपि, घटनामा मानवीय क्षति भने भएको छैन।
यसअघि बुधबार पनि सोही क्षेत्रमा आक्रमण भएको थियो। इरानले यो हमला इजरायलले आफ्नो साउथ पार्स ग्यास क्षेत्रमा गरेको आक्रमणको प्रतिकारका रूपमा गरेको बताइएको छ। साउथ पार्स विश्वकै ठूलो प्राकृतिक ग्यास क्षेत्रमध्ये एक हो।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले ऊर्जा पूर्वाधारमा आक्रमण भए अझ कडा जवाफ दिने चेतावनी दिएको छ। उसले शत्रु र उसका सहयोगीका संरचनालाई लक्षित गर्दै आक्रमण जारी रहने संकेत गरेको छ।
कतार सरकारले उक्त आक्रमणलाई राष्ट्रिय सुरक्षामाथिको गम्भीर खतरा भन्दै आपत्ति जनाएको छ। साथै, आवश्यक परे प्रतिकार गर्ने अधिकार सुरक्षित राखेको पनि जनाएको छ। घटनापछि रास लाफान क्षेत्र खाली गराइएको छ।
यसैबीच कतारले आफ्नो देशमा रहेका इरानी दूतावासका केही अधिकारीलाई अवाञ्छित व्यक्ति घोषणा गर्दै २४ घण्टाभित्र देश छाड्न निर्देशन दिएको छ।
अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि सुरु भएको तनाव अहिले थप चर्किँदै गएको छ। पछिल्ला घटनाले मध्यपूर्व क्षेत्रमा युद्ध फैलिने चिन्ता बढाएको छ।
यसको प्रभाव विश्व ऊर्जा बजारमा समेत देखिन थालेको छ। तेलको मूल्य बढ्दै गएको छ भने होर्मुज स्ट्रेट आसपासको ढुवानी जोखिमपूर्ण बन्दै गएको छ।

