कलैया – १ असोज ।
राष्ट्रिय शोक दिवसको अवसरमा नेपाल शिक्षक संघ, बारा द्वारा कलैयाको भारत चौकमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा विद्यार्थी, कर्मचारी, शिक्षक, पत्रकार तथा नागरिक समाजका प्रतिनिधि लगायतको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमका क्रममा वीर सहिदहरूको सम्मानमा दीप प्रज्वलन गरिँदा उपस्थित सहभागीहरूले मौन धारण गर्दै सहिद आत्माहरूको बलिदान स्मरण गरेका थिए ।
नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनीले वीर सहिदहरूको बलिदान देश र समाजका लागि अमूल्य भएको बताउँदै सहभागी सबै महानुभावप्रति हार्दिक धन्यवाद ज्ञापन गरे । उनले भने, “शिक्षक, कर्मचारी, विद्यार्थी र नागरिक समाज एकै ठाउँमा भेला भएर सहिदलाई सम्झनु नै राष्ट्रिय एकताको प्रतीक हो ।”
सो अवसरमा नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले सहिदहरूको सपना पूरा गर्न सबै क्षेत्रको साझा जिम्मेवारी रहेको उल्लेख गरे । उनले राष्ट्रको अस्तित्व र भविष्य सहिदले देखाएको बाटोमै अडिएको भन्दै सबैलाई जागरुक र उत्तरदायी हुन आग्रह गरे ।
कार्यक्रममा सहभागीहरुले ‘वीर सहिद अमर रहून्’, ‘जय शिक्षक, जय कर्मचारी’ लगायतका नारासहित शोक दिवसलाई संवेदनशील र स्मरणीय बनाएका थिए ।
नेपाल शिक्षक संघ, बाराले जारी विज्ञप्तिमा सहभागी सबै महानुभावप्रति आभार व्यक्त गर्दै सहिद आत्माको चिर शान्तिको कामना गरिएको छ ।
राष्ट्रिय शोक दिवसमा नेपाल शिक्षक संघ बाराद्वारा दीप प्रज्वलन कार्यक्रम, सहिदलाई श्रद्धाञ्जली अर्पण
Leave a Comment
Leave a Comment


