२४ फागुन, काठमाडौं: बाराको पचरौता नगरपालिकाको एकजना वडाध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पचरौता नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष कन्हैयालाल यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष यादवसहित चारजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सडकले छोएको जग्गालाई सडकले नछोएको भनेर झुठो सिफारिस दिएको आरोपमा वडाध्यक्ष यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । वडाध्यक्ष यादवले साविकको बेलदारी गाविस–४ को कित्ता नम्बर १७३ को सडकले छोएको जग्गालाई सडकले नछोएको भन्दै सिफारिस दिएको अख्तियारको आरोप छ ।
वडाध्यक्षको सिफारिसका कारण उक्त जग्गा खरिदकर्ता र बिक्रीकर्ताले तिर्नुपर्ने रजिष्ट्रेसन शुल्क र पुँजीकर लाभकर वापत राज्यकोषमा ८ लाख ११ हजार ९५१ रुपैयाँ घाटा भएको अख्तियारले जनाएको छ ।
अख्तियारले वडाध्यक्ष यादव, जग्गा बिक्री गर्ने विद्या यादव तथा खरिद गर्ने बृजकिशोर यादव र अवध किशोर यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।