रौतहट, ३ फागुन । रौतहटमा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ।
दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गंगापिपरा सडकखण्डको झाझपुल नजिक बिहान करिब साढे ५ बजे गंगापिपराबाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट (BR30U1371) को मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर सिसौको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक –४ सरुअठा निवासी २४ वर्षीय जितेन्द्र साह र उनकी २१ वर्षीया पत्नी गम्भीर घाइते भएका थिए। टाउको, मुख तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका दुवैलाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको थियो।
अस्पतालमा उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए।
घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।






