२५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार बिहान अचानक अस्वस्थ भएका छन् । बिहान जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग भेटवार्ताको तयारीमा रहेका बेला उनलाई बान्ता र चक्कर लागेपछि अस्पताल भर्ना गरिएको हो ।
राष्ट्रपति पौडेललाई काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर (एमसीभीटीसी) मा भर्ना गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेल का अनुसार राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको छ र निरन्तर चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ ।
अस्पताल स्रोतका अनुसार राष्ट्रपति पौडेललाई पोजिसनल भर्टिगो नामक रोगको लक्षण देखिएको हो, जसका कारण अचानक टाउकोभित्र केही घुमिरहेको जस्तो महसुस हुने, चक्कर आउने र बान्ता हुने समस्या हुन्छ ।
स्रोतका भनाइमा, “उहाँलाई सुरुमा हल्का चक्कर आएको थियो, पछि निरन्तर बान्ता हुन थालेपछि अस्पताल ल्याइएको हो । अहिले अवस्था स्थिर छ र आवश्यक परीक्षण भइरहेको छ ।”
राष्ट्रपतिको स्वास्थ्यमा सुधार हुँदै गएपछि उनलाई आज वा भोलि डिस्चार्ज गर्ने विषयमा चिकित्सकबीच छलफल भइरहेको जनाइएको छ ।
यसबीच, जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग तय गरिएको भेटवार्ता स्थगित गरिएको छ । नयाँ वार्ता आगामी सोमबारका लागि तय गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।



Leave a Reply