भदौ २३–२४ का घटनामा सीडीओ जिम्मेवार : खापुङको सर्वोच्चमा लिखित जवाफ’

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

१५ मंसिर, काठमाडौं ।
नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक चन्द्रकुवेर खापुङले भदौ २३ र २४ मा जेन–जी आन्दोलनका क्रममा भएका घटनामा जिल्लाको शान्ति–सुरक्षाको मुख्य अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ) को क्षेत्राधिकारभित्र पर्न आउने बताएका छन्।

सर्वोच्च अदालतमा आफूलाई समेत विपक्षी बनाइएको रिटमा लिखित जवाफ बुझाउँदै खापुङले स्थानीय प्रशासन ऐन, २०२८ तथा प्रहरी नियमावली, २०७१ उद्धृत गर्दै प्रहरी महानिरीक्षकको तहमा बसेर जिल्लाको शान्तिसुरक्षामा प्रत्यक्ष आदेश दिने भूमिका नहुने स्पष्ट पारेका हुन्।

उनका अनुसार, सीडीओकै प्रत्यक्ष निर्देशनमा जिल्लास्थित प्रहरीले शान्ति–व्यवस्था कायम गर्ने कानुनी व्यवस्था छ, र त्यसमा प्रहरी महानिरीक्षकको संलग्नता कानूनले अपेक्षा गरेको छैन।
‘महानिरीक्षकले भूमिकानिर्वाह नगरेको’ जस्ता आरोप आफू–खुसीका दाबी मात्र भएको खापुङले उल्लेख गरेका छन्।

जेन–जी आन्दोलनमा भएको बलप्रयोग र २२ जनाको मृत्युपछि खापुङविरुद्ध छानबिन माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको थियो।
यसैबीच सुशीला कार्की नेतृत्वको सरकार गठन भएपछि उनलाई पदबाट हटाउने चर्चा चले पनि निर्णयमा पुग्न सरकार असफल भएको थियो।

पदबाट हटेपछि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले खापुङलाई काठमाडौँ उपत्यका बाहिर जाने प्रतिबन्ध लगाए पनि उनको आधिकारिक बयान भने सुरु भएको छैन।
अनुसन्धानमा असहयोग गरेको आरोपमा आयोगले उनलाई अवहेलनाको चेतावनीसमेत दिएको थियो।

‘असल नियत’ सम्बन्धी कानूनी प्रावधान उद्धृत गर्दै खापुङले प्रहरी अधिकारीहरूले इमान्दारीपूर्वक कर्तव्यपालन गर्दा त्यसका लागि उनीहरूलाई दण्डित गर्न नमिल्ने जिकिर गरेका छन्।
अपरिहार्य अवस्थामा सार्वजनिक सम्पत्ति र शान्तिसुरक्षा जोगाउन २३ भदौमा गोली चलाउनुपरेको दाबी गर्दै उनले त्यो ‘इमान्दारीपूर्वक गरिएको कार्य’ भएको बताएका छन्।

तर, उनले उद्धृत गरेका कानूनी दफामा भीड नियन्त्रणका लागि अपनाउनुपर्ने लाठीचार्जदेखि हवाई फायर र घुँडामुनि गोली प्रहार सम्मका क्रमबद्ध प्रक्रिया, आदेशको लिखित रूप, चेतावनी आदि विषयमा भने खापुङ मौन रहेको आरोप छ।

मानवअधिकार संस्था ह्यूमन राइट्स वाच ले हालैको प्रतिवेदनमा जेन–जी आन्दोलनमा प्रहरीले करिब तीन घण्टासम्म ‘अन्धाधुन्ध’ प्राणघातक बल प्रयोग गरेको उल्लेख गर्दै गोली प्रदर्शनकारीका टाउको, छाती र पेटमा केन्द्रित भएको निष्कर्ष निकालेको थियो।

एउटै ब्यारिकेड मात्र राखेर सुरक्षा तयारी कमजोर बनाइएको अवस्थामा प्रदर्शनकारी संसद भवनतिर अघि बढेपछि बल प्रयोग गरिएको थियो।
खापुङले भने आफ्नो र मातहत प्रहरीको कार्य ‘कानूनअनुरूप र असल नियतमा आधारित’ रहेको पुनः दोहोर्‍याएका छन्।

Leave a comment