५ माघ, बारा । नेपाली कांग्रेसले बाराका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएसँगै जिल्लाको आन्तरिक राजनीति फेरि तातेको छ। सहमहामन्त्री फरमुल्लाह मन्सुरको गृहजिल्ला समेत रहेको बारामा यसपटक चारै क्षेत्रमा गगन थापा पक्षधर उम्मेदवार चयन गरिएपछि देउवा पक्ष पूर्ण रूपमा बाइपास भएको छ।
कांग्रेस स्रोतका अनुसार बारा–१ मा शम्भुबहादुर बुढाथोकी, बारा–२ मा भैयाराम यादव, बारा–३ मा फरमुल्लाह मन्सुर र बारा–४ मा श्यामबाबु गुप्तालाई उम्मेदवार बनाइएको छ। जिल्ला युवा नेता राजेश रौनियार उम्मेदवार गगन समूहका भएको पुष्टि गरेका छन्।
टिकट वितरणको निर्णयसँगै देउवा समूह असन्तुष्ट बनेको छ। पूर्वमन्त्री तथा निवर्तमान सहमहामन्त्री उमाकान्त चौधरी टिकट दौडबाट बाहिरिएका छन्। विशेष महाधिवेशनअघि जिल्ला समितिले बारा–१ बाट चौधरीको नाम एकल सिफारिस गरे पनि अन्तिम सूचीमा उनको नाम समावेश भएन।
यसैगरी बारा–२ बाट पूर्व जिल्ला सभापति राधेचन्द्र यादव पनि उम्मेदवार बन्नबाट वञ्चित भएका छन्। यादवको नाम पनि यसअघि एकल सिफारिसमा परेको थियो। रोचक कुरा के छ भने उनका छोरा हाल बारा कांग्रेसको जिल्ला सभापति छन्।
यता जिल्ला सभापति राजेश यादवले आफूलाई आधिकारिक सूची नआएको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। “पार्टीको औपचारिक निर्णय नआउँदासम्म म केही बोल्दिनँ,” उनले भने। यादव विशेष महाधिवेशनको विपक्षमा उभिएका देउवा निकट नेता हुन्। उनी र सहमहामन्त्री मन्सुरबीच लामो समयदेखि जिल्लामा आन्तरिक द्वन्द चल्दै आएको छ।
दुई नयाँ अनुहार मैदानमा
कांग्रेसले अघि सारेका चार उम्मेदवारमध्ये दुई जना पहिलोपटक संसदीय चुनाव लड्दैछन्। बारा–२ का भैयाराम यादव र बारा–४ का श्यामबाबु गुप्ता नयाँ अनुहार हुन्।
अनुभवी उम्मेदवारमध्ये बारा–१ का बुढाथोकी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमाले नेता पुरुषोत्तम पौडेलसँग पराजित भएका थिए। व्यवसायिक पृष्ठभूमिका उनी १४औँ महाधिवेशनमा जिल्ला सभापतिको चुनावमा समेत पराजित भएका थिए।
बारा–३ का उम्मेदवार फरमुल्लाह मन्सुरले पनि हालसम्म उक्त क्षेत्रमा जित हात पार्न सकेका छैनन्। २०७० मा तत्कालीन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका मन्सुर २०७४ मा जसपा नेता रामबाबु यादवसँग पराजित भएका थिए। २०७९ को निर्वाचनमा भने उनी समानुपातिक सूचीमार्फत संसद पुगेका थिए।
कांग्रेसको यो निर्णयले बारामा पार्टीभित्रको शक्ति संघर्ष थप चर्किने संकेत देखिएको छ। आगामी दिनमा देउवा समूहको प्रतिक्रिया र सम्भावित असन्तोषले चुनावी समीकरण थप रोचक बन्ने देखिन्छ।






