आजदेखि सुरु भयो उज्यालोको पर्व ‘तिहार

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

कलैया ,कात्तिक १ गते।
उज्यालो र भाइबहिनीबीचको स्नेहको प्रतीक पर्व यमपञ्चक अर्थात् तिहार आजदेखि देशभर विधिवत् रूपमा सुरु भएको छ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यो पर्व यस वर्ष पनि पाँच दिनसम्म विविध धार्मिक विधि, दियो–बत्ती र उमङ्गका साथ मनाइनेछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार पर्वको आरम्भ मानिएको हो। यसै कारण आज धनतेरस (धनत्रयोदशी) तथा यमदीपदान मनाइँदैछ।

समितिका सदस्य तथा धर्मशास्त्रविद् डा. देवमणि भट्टराईका अनुसार आजैदेखि यमदीपदान सुरु हुने शास्त्रीय मान्यता छ। यस अवसरमा यमदीपदान गर्दा यमलोकका यातनाबाट मुक्ति पाइने विश्वास गरिन्छ।

समितिले दिएको जानकारीअनुसार

कात्तिक २ गते आइतबार बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा,

कात्तिक ५ गते बुधबार गाईगोरु तथा गोवद्र्धन पूजा र नेपाल संवत् ११४६ सुरु हुने,

र कात्तिक ६ गते बिहीबार भाइटीका पर्ने छ।

भाइटीकाको शुभ साइत बिहान ११ः३९ बजे रहेको समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिएका छन्। भाइटीका लगाउँदा दाजुभाइ पश्चिम फर्केर र दिदीबहिनी पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय विधि रहेको उनले बताए।

राजधानीलगायत देशभरका सहरहरूमा एक हप्ता अघिदेखि नै बत्ती र रंगोलीले घरघर झिलिमिली भएका छन्। दीपावली, भैलो, देउसी, कौडा र लङ्गुरबुर्जाजस्ता मनोरञ्जनात्मक गतिविधिले तिहारको रौनक झन् बढाएको छ।

नेपाल प्रहरीले भने तिहारमा पटाका नपड्काई सभ्य र सुरक्षित रूपमा पर्व मनाउन नागरिकलाई अनुरोध गरेको छ।

देशभर आजदेखि सुरु भएको तिहार पर्वले उज्यालो, स्नेह र भाइबहिनीबीचको प्रेम सन्देश फैलाइरहेको छ।

Leave a comment