आईसीसी महिला विश्वकप फाइनल : भारत र दक्षिण अफ्रिका पहिलोपटक आमने–सामने

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं — आईसीसी एकदिवसीय महिला विश्वकपको फाइनलमा आज भारतदक्षिण अफ्रिका पहिलो पटक आमने–सामने हुँदै छन्। दशकौंको संघर्ष, चुनौती र निराशालाई पार गर्दै यी दुई टोलीले निर्णायक मोडसम्म आफ्नो यात्रा पुर्‍याएका छन्।

फाइनल नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा आज अपरान्ह सवा ३ बजे सुरु हुनेछ।

दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा इङ्ल्यान्डलाई १२५ रनको फराकिलो अन्तरले हराउँदै पहिलोपटक फाइनलमा स्थान बनाएको हो। भारतले भने सात पटककी विश्व विजेता अस्ट्रेलियालाई पाँच विकेटले हराउँदै तेस्रो पटक महिला विश्वकप फाइनलमा प्रवेश गरेको थियो।

समूह चरणमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई हराएको थियो भने अस्ट्रेलियाले भारतलाई पराजित गरेको थियो। यसका बाबजुद दुबै टोली पहिलो विश्वकप उपाधिको नजिक पुग्न सफल भए।

समूह चरणमा दक्षिण अफ्रिकाले ७ खेलमध्ये ५ जित र २ हारसहित १० अंक बटुलेर तेस्रो स्थान हासिल गर्‍यो। भारतले ७ खेलमा ३ जित, ३ हार र १ बिनातिजासहित ७ अंक बटुलेर चौथो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको थियो।

भारतले आफ्नो अभियान सह–आयोजक श्रीलंका विरुद्ध ५९ रनको जितबाट सुरु गरेको थियो। त्यसपछि पाकिस्तानलाई ८८ रनले हराउँदै लगातार दुई जित हात पारेको थियो। तर त्यसपछि भारतले तीन खेलमा हारको सामना गर्नुपर्‍यो। न्यूजिल्यान्डसँगको खेलमा स्मृति मंदाना र प्रतिका रावलको उत्कृष्ट प्रदर्शनले भारतलाई विशाल योगफलसम्म पुर्‍यायो।

दक्षिण अफ्रिकाले इंग्ल्यान्डसँग १० विकेटले पराजित भइसकेको थियो तर त्यसपछि लगातार पाँच खेल जित्दै फाइनलसम्म पुग्यो। न्यूजिल्यान्ड, भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानले अफ्रिकी टोलीको चुनौती सामना गर्न सकेनन्।

फाइनलमा ४५ हजारभन्दा बढी दर्शक उपस्थित हुने अनुमान छ, जसले खेललाई अझ रोमाञ्चक बनाउने छ।

Leave a comment