काठमाडौं, वैशाख २२ — काठमाडौँमा नदीकिनारका अव्यवस्थित बस्ती हटाउने क्रममा विस्थापित भएका बालबालिकालाई पुनः शिक्षामा जोड्ने प्रयास सुरु गरिएको छ। यसअन्तर्गत ५२ जना बालबालिका आजदेखि विद्यालय जान थालेका छन्।
काठमाडौँ महानगरपालिका का अनुसार राधास्वामी सत्संग व्यास आश्रम (होल्डिङ सेन्टर) मा राखिएका बालबालिकालाई वडा नं. १४ स्थित जनविकास माध्यमिक विद्यालयमा भर्ना गराएर अध्ययन सुरु गराइएको हो।
महानगरको शिक्षा विभागले अभिभावक र बालबालिकासँग परामर्श गरेर उनीहरूको आवश्यकता र रुचिअनुसार विद्यालय छनोट गरेपछि सोमबारबाट प्रक्रिया अघि बढाइएको थियो।
हाल थापाथली, गैरीगाउँ, सिनामंगललगायत क्षेत्रबाट हटाइएका ६६ परिवारका २०३ जना उक्त आश्रममा बसोबास गरिरहेका छन्। तीमध्ये ५२ जना विद्यालय उमेरका बालबालिका रहेका छन्।
बालबालिकाको भविष्यलाई ध्यानमा राख्दै अभिभावकहरूबाट छात्रावासमा राखेर पढाउने विषयमा पनि राय संकलन गरिएको छ। केही अभिभावक यसप्रति सकारात्मक देखिएका छन् भने केहीले अझै स्पष्ट धारणा दिएका छैनन्।
महानगरका शिक्षा विभागका प्रतिनिधिहरूका अनुसार छात्रावासमा बस्न इच्छुक बालबालिकाको संख्या पनि उल्लेख्य रहेको छ, जसका लागि आवश्यक व्यवस्थापनको तयारी भइरहेको छ।
यसैबीच, महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले निजी विद्यालयका छाता संगठनहरूसँग छलफल गर्दै विस्थापित बालबालिकालाई निःशुल्क र आवासीय शिक्षाको व्यवस्था मिलाउन आग्रह गरेकी थिइन्।
त्यसपछि प्याब्सन, एनप्याब्सन, हिसान लगायत संस्थाहरूले संयुक्त रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
सरकार र सरोकारवालाको समन्वयमा विस्थापित बालबालिकाको शिक्षालाई निरन्तरता दिने प्रयासले सकारात्मक संकेत दिएको छ।
विस्थापित बालबालिकालाई शिक्षामा फर्काइयो : ५२ जना आजदेखि विद्यालयमा
Leave a Comment
Leave a Comment

