काठमाडौं । ३ पुस २०८२, बिहीबार
भारत र दक्षिण अफ्रिकाबीच लखनउमा आयोजना हुने तय भएको चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल घना कुहिरोका कारण स्थगित गरिएको छ।
मैदान वरपर बाक्लो कुहिरो जमेपछि अम्पायरहरूले खेल सञ्चालन सम्भव नदेखिएको निष्कर्ष निकालेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार अम्पायर टोलीले टस गराउने समय सार्दै पटक–पटक गरी करिब छ पटकसम्म मैदानको अवस्था निरीक्षण गरेको थियो। तर दृश्यता पर्याप्त नभएपछि अन्ततः खेल रद्द गर्ने निर्णय गरिएको हो।
पाँच खेलको टी–२० शृंखलामा भारत हाल २–१ ले अग्रता लिइरहेको छ। अब शृंखलाको पाँचौँ तथा अन्तिम खेल शुक्रबार अहमदावादमा आयोजना हुनेछ।
अन्तिम खेलमा दक्षिण अफ्रिकासामु शृंखला बराबरी गर्ने अवसर रहनेछ भने घरेलु टोली भारतलाई शृंखला ३–१ ले आफ्नो पक्षमा पार्ने मौका हुनेछ।

