एनपिएलमा ब्याटिङमा विदेशीको वर्चश्व, बलिङमा नेपाली खेलाडी चम्किए

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

१७ मंसिर ,काठमाडौ -नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण मिलाउँदा मङ्गलबारसम्म तीन शतक प्रहार भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १ गतेबाट दोस्रो संस्करण जारी छ। तीनवटै शतक विदेशी खेलाडीहरूले बनाएका हुन् भने नेपाली खेलाडीले अझै शतकको खुला खातामा नाम लेखाउन सकेका छैनन्।

विदेशी खेलाडीको शतकीय प्रदर्शन

जारी संस्करणको २१औँ खेलमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले ५५ बलमा शतक पूरा गर्दै कर्णाली याक्सविरुद्ध १०८ रनको अविजित पारी खेले। पोखराले यो खेल ३४ रनले जित्यो र एडम ‘प्लेयर अफ द म्याच’ घोषित भए।

यसअघि कर्णालीका स्कटिस खेलाडी मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध ४१ बलमै शतक प्रहार गरेका थिए। उनी ११४ रनमा अविजित रहे र ‘प्लेयर अफ द म्याच’ समेत बने। एनपिएलमा सबैभन्दा छिटो शतक प्रहार गर्ने र एकै खेलमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान समेत वाटकै नाममा छ।

पहिलो संस्करणमा एक मात्र शतक अमेरिकी खेलाडी आन्द्रिज गोउसले पोखराका लागि लुम्बिनीविरुद्ध बनाएका थिए।

अर्धशतकमा पनि विदेशीको दबदबा

जारी प्रतियोगितामा २२ खेलाडीले २६ अर्धशतक प्रहार गरेका छन्। विदेशी खेलाडीले १७ अर्धशतक बनाउँदा नेपाली खेलाडीले ९ अर्धशतक जोड्न सकेका छन्।

विदेशी खेलाडीमध्ये चितवनका रवी बोपराले तीन अर्धशतक बनाएका छन्। अन्य धेरै खेलाडीले एक–एक अर्धशतक प्रहार गरेका छन्। नेपालीतर्फ पोखरा कप्तान कुशल भुर्तेलले दुई अर्धशतक बनाएका छन् भने अन्य सात जना खेलाडीले एक–एक अर्धशतक जोडेका छन्।

सर्वाधिक रन– अग्रस्थानमा विदेशी

जसअन्तर्गत पोखराका एडम रोसिङ्टन पाँच खेलमा २५३ रनसहित शीर्ष स्थानमा छन्। कर्णालीका मार्क वाट २४२ रनसहित दोस्रो, चितवनका रवी बोपरा २०७ रनसहित तेस्रो स्थानमा छन्। पाँचौँ स्थानमा मात्र नेपाली खेलाडी — लुम्बिनी कप्तान रोहितकुमार पौडेल १७४ रनसहित पुगेका छन्।

बलिङमा भने नेपालीकै दबदबा

बल्लेवाजीमा विदेशी खेलाडी हावी देखिए पनि बलिङतर्फ नेपाली खेलाडी उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
सुदूरपश्चिमका अभिनाश बोहरा पाँच खेलमा ११ विकेटसहित शीर्ष स्थानमा छन्।
विराटनगरका कप्तान सन्दीप लामिछाने पाँच खेलमा १० विकेटसहित दोस्रो स्थानमा छन्।
तीसौँ स्थानमा काठमान्डूका विदेशी खेलाडी मिलिन्द कुमार, चौथोमा कप्तान करण केसी (दुवै १०–१० विकेट) र पाँचौँमा नौ विकेटसहित सुदूरपश्चिमका विदेशी खेलाडी हर्मित सिंह छन्।

उच्च र न्यून स्कोर

एनपिएल इतिहासमै उच्च स्कोर २२० रनसहित विराटनगर किङ्ग्सले बनाएको छ, पोखराविरुद्ध।
दोस्रो उच्च स्कोर पोखराले कर्णालीविरुद्ध २०१ रन बनाएको हो।
सबैभन्दा कम स्कोर ८९ रनमा चितवन रोकिएको थियो।

दोस्रो संस्करणमा आठ टोली सहभागी छन्। हालसम्म सुदूरपश्चिम प्लेअफ पुग्ने पहिलो टोली बनेको छ भने कर्णाली प्रतियोगिताबाट बाहिरिसकेको छ। बाँकी टोलीको छिनोफानो हुन बाँकी छ।

Leave a comment