रवि लामिछाने–छविलाल जोशीको मुद्दाको सुनुवाइ फेरि स्थगित

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

११ मंसिर, बुटवल । सुप्रिम सहकारी संस्थामा ठगी र संगठित अपराधको मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ पुनः स्थगित भएको छ।

उनीहरूको मुद्दा उच्च अदालत बुटवलको इजलास–३ (न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोल) मा पेशी परेको थियो। तर, रवि लामिछानेका कानून व्यवसायीले स्थगित गरिदिन माग गर्दै निवेदन दिएका कारण आजको सुनुवाइ टरेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।

यसअघि पनि अघिल्लो बिहीबार पाटन उच्च अदालतमा पेशी परेकाले बुटवलको सुनुवाइ स्थगित गरिएको थियो।

सर्वोच्चबाट मिसिल मागिएको आदेश

कात्तिक २७ गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा रहेको मूल अभियोग सम्बन्धी मिसिल झिकाउन आदेश दिएको थियो। मिसिल नआएकै अवस्थामा अघिल्लो बिहीबारका लागि तोकिएको पेशी पनि स्थगित भएको थियो।

त्यसअघि कात्तिक २० गतेको इजलासले पनि सुरु (original) मिसिल माग गर्न आदेश दिएको थियो। सर्वोच्चबाट सुरु मिसिल नआए पनि जिल्ला अदालतबाट प्रतिलिपि भने पठाइएको छ।

दुवैको मुद्दा एउटै प्रकृतिको

न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै प्रतिवादीको मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ हेर्न आदेश गरेको थियो।

बिगो बुझाएर थुनाबाहिर बसेर मुद्दा लड्न पाउने माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएपछि अदालतले रविसँगै जोशीको फाइल पनि संयुक्त रूपमा पेस गर्न आदेश दिएको थियो।

बिगो पेस गरिए पनि रिहा नपाउने निर्णय

सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीहरूलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोग पत्र दायर गरिएको छ। लामिछानेले आफ्नो हिस्साको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतका रूपमा पेस गरेका छन्। जोशीले पनि त्यति नै रकम पेस गरेका छन्।

तर, दुवै प्रतिवादीको व्यक्तिगत बिगो कति भन्ने यकिन नहुँदा अदालतले दुवैलाई समान रूपमा थुनामै राख्ने निर्णय गरेको थियो।

थुनामा बसिरहेकै अवस्थाबाट मुद्दा लड्दै

हाल रवि लामिछाने ललितपुरको नख्खु कारागारमा छन् भने छविलाल जोशी भैरहवा कारागारमा छन्। लामिछानेले आफू सहकारीको न नामसदस्य, न बचतकर्ता र न ऋणी भएको दाबी गर्दै बयान दिएका छन्।

Leave a comment