चैत ४, २०८२, विराटनगर-मोरङको बूढीगंगा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी चिनफिङसम्बन्धी पुस्तक जलाइएको घटनालाई लिएर विश्वविद्यालय र गृह मन्त्रालयले छुट्टाछुट्टै छानबिन समिति गठन गरेका छन्।
विश्वविद्यालय संरक्षण समितिको बैठकले तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको हो। समितिको संयोजकमा राजन केसी रहेका छन् भने सदस्यहरूमा मुकेश उपाध्याय र उच्च अदालत विराटनगर बार एसोसिएसनका पूर्वअध्यक्ष सुरेशलाल श्रेष्ठ रहेका छन्।
समितिलाई १५ दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। यसले घटनास्थल अध्ययन गर्ने, सम्बन्धित कागजात संकलन गर्ने तथा शिक्षक, कर्मचारी र सरोकारवालासँग आवश्यक जानकारी लिनेछ। आवश्यक समन्वय स्थानीय प्रशासनसँग पनि गरिने जनाइएको छ।
उता गृह मन्त्रालयले पनि छुट्टै पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको संयोजकत्वमा बनेको उक्त समितिमा प्रहरी, सरकारी वकिल, प्रदेश मन्त्रालय र शिक्षा क्षेत्रका प्रतिनिधिहरू सदस्य रहेका छन्।
जिल्ला प्रशासन कार्यालय मोरङले २४ घण्टाभित्र स्पष्टीकरण मागेपछि विश्वविद्यालयले प्रारम्भिक जवाफ दिँदै प्रयोगविहीन र धमिराले नष्ट गरेका सामग्री सफाइका क्रममा जलाइएको जनाएको छ।
विश्वविद्यालयका अनुसार करिब १३ हजार थान सी चिनफिङसम्बन्धी पुस्तक सुरक्षित रूपमा अन्यत्र सारिएको छ भने केही थान मात्रै नष्ट भएको हुन सक्ने उल्लेख गरिएको छ।
गृह मन्त्रालयले भने घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै निर्णय प्रक्रिया, आदेश दिने व्यक्ति र संलग्न पक्षहरूको पहिचान गर्न विस्तृत अनुसन्धान आवश्यक रहेको भन्दै समिति गठन गरेको जनाएको छ। उक्त समितिलाई पनि १५ दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ।
विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागले प्रयोगशालाका लागि स्थान खाली गर्न पुराना सामग्री हटाउने क्रममा करिब २५ दिनअघि वर्गीकरण गरिएको थियो। सो क्रममा काम नलाग्ने कागजपत्र र सामग्री नष्ट गर्ने निर्णय गरिएको थियो।
शनिबार सरसफाइपछि साँझ कलेज परिसरमै ती सामग्री जलाइएको थियो। तर त्यही सामग्रीभित्र सी चिनफिङसम्बन्धी पुस्तकहरू समेत परेपछि विवाद सुरु भएको हो।
उक्त पुस्तकहरू विगतमा चिनियाँ दूतावासमार्फत ल्याइएका थिए र केही वितरण समेत भइसकेको बताइएको छ। विश्वविद्यालय प्रशासनले भने कसैको अपमान गर्ने उद्देश्य नभएको स्पष्ट पारेको छ।

