पुलिस र एपिएफको सानदार सुरुवात, आर्मी र हेल्प नेपाल पनि विजयी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं — १०औँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा नेपाल पुलिस क्लब र एपिएफ क्लब ले महिलातर्फ उत्कृष्ट सुरुवात गरेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बिहीबारदेखि सुरु प्रतियोगितामा पुलिसले बुटवलको एभरेस्ट भलिबल क्लबलाई सोझै तीन सेटमा पराजित गर्‍यो। प्रतिस्पर्धात्मक पहिलो सेट २६–२४ ले जितेको पुलिसले त्यसपछि खेलमा पकड बनाउँदै २५–१६ र २५–१७ ले बाँकी सेट आफ्नो पक्षमा पार्‍यो।
अर्को खेलमा एपिएफले त्रिभुवन आर्मी क्लब लाई ३–१ सेटले हराउँदै सुखद सुरुवात गर्‍यो। एपिएफले २५–२३ ले पहिलो सेट जिते पनि दोस्रो सेट १७–२५ ले गुमाएको थियो। तर त्यसपछि लयमा फर्किँदै २५–१९ र २५–१९ ले लगातार दुई सेट जित्दै खेल आफ्नो पक्षमा पार्‍यो।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लब ले विजयी सुरुवात गरेका छन्। आर्मीले लुम्बिनीको खिल्जी क्लबविरुद्ध पहिलो सेट १८–२५ ले गुमाए पनि त्यसपछि जबरजस्त पुनरागमन गर्दै २५–२०, २५–२१ र २५–२० ले लगातार तीन सेट जित्यो।
साबिक विजेता हेल्प नेपालले भने बुढानीलकण्ठ भलिबल क्लबलाई कुनै मौका नदिँदै २५–१३, २५–१७ र २५–१८ को सोझो सेटमा पराजित गर्‍यो।
वैशाख १९ गतेसम्म सञ्चालन हुने यस लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली गरी कुल १४ टोलीको सहभागिता रहेको छ। पुरुषतर्फ हेल्प नेपाल, आर्मी, पुलिस, एपिएफ, खिल्जी युवा क्लब, पश्चिम रुकुम, कोशी प्रदेश र बुढानीलकण्ठ क्लब रहेका छन् भने महिलातर्फ न्यू डायमन्ड, पुलिस, एपिएफ, सुदूरपश्चिम, एभरेस्ट र आर्मीबीच प्रतिस्पर्धा हुनेछ।
कुल १ करोड १५ लाख रुपैयाँ लागतको प्रतियोगितामा विजेताले १० लाख, उपविजेताले ५ लाख र तेस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै सर्वोत्कृष्ट खेलाडीले ६० हजार र उत्कृष्ट विधागत खेलाडी तथा प्रशिक्षकले जनही ३० हजार रुपैयाँ पाउने व्यवस्था गरिएको छ।

Leave a Comment