राष्ट्रिय सभा निर्वाचन : मधेशमा जितको चाबी साना दलको हातमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

८ पुस,काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मधेश प्रदेशमा दलहरूको गणितले गठबन्धन अपरिहार्य हुने संकेत देखाएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको प्रदेशगत मतभार अनुसार मधेश प्रदेशमा कुल १० हजार ८३९ मतभार रहेको छ, जसले ठूला दललाई समेत एक्लै चुनाव जित्न कठिन बनाएको छ।

मधेश प्रदेशमा १०७ प्रदेश सांसद र १३६ स्थानीय तहका २७२ प्रमुख तथा उपप्रमुख मतदाता रहेका छन्। यी दुवै तहका मतदाताबाट तय हुने मतभारले साना दललाई निर्णायक भूमिकामा पुर्‍याएको छ।

प्रदेश सभामा दलहरूको उपस्थिति हेर्दा एमालेसँग २५, कांग्रेससँग २२, जसपा नेपालसँग १९ र जनमत पार्टीसँग १३ सांसद छन्। त्यस्तै लोसपा र माओवादीसँग समान ९–९, एकीकृत समाजवादीसँग ७ तथा अन्य साना दलका १–१ सांसद छन्।

मतभारको हिसाबले कांग्रेस पहिलो स्थानमा रहे पनि उसले एक्लै बहुमत पुर्‍याउने अवस्था छैन। एमाले र जसपा नेपाल पनि कांग्रेसकै नजिक भए पनि स्पष्ट जित सुनिश्चित गर्न साना दलको साथ आवश्यक देखिन्छ। माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको समूह भने ठूला तीन दलको तुलनामा धेरै पछाडि छ।

राजनीतिक विश्लेषकहरूका अनुसार जसपा नेपाल, जनमत पार्टी, लोसपा, माओवादी केन्द्र र एकीकृत समाजवादी जस्ता दलहरू राष्ट्रिय सभा निर्वाचनमा ‘किङ मेकर’ बन्ने सम्भावना छ। ठूला दलबीच एक्लाएक्लै प्रतिस्पर्धा भएमा परिणाम उल्टिन सक्ने भएकाले गठबन्धन नै जितको आधार बन्ने देखिन्छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते हुनेछ। मतदाता नामावली पुस १९ गते प्रकाशन हुने छ भने दाबी–विरोधपछि पुस २२ गते अन्तिम नामावली सार्वजनिक गरिनेछ।

उम्मेदवारको मनोनयन पुस २३ गते हुनेछ। पुस २४ गते उजुरी दर्ता, पुस २७ गते नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशन गरिनेछ। पुस २८ गते निर्वाचन चिन्ह वितरण गरिने आयोगले जनाएको छ।

निर्वाचन माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। मधेश प्रदेशमा हुने यो निर्वाचनले आगामी राष्ट्रिय राजनीतिक समीकरणसमेत निर्धारण गर्ने अपेक्षा गरिएको छ।

Leave a Comment