काठमाडौं, १४ मंसिर २०८२ – राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार, नेपालमा हाल करिब ३४ हजार ३३७ जना एचआईभी संक्रमित छन्। यसमध्ये २६ हजार ३७२ जनाले उपचार पाएका छन् भने करिब ८ हजार संक्रमित अझै उपचारको दायरामा आएका छैनन्। स्वास्थ्य विशेषज्ञहरूले यसलाई एचआईभी नियन्त्रणमा ठूलो चुनौतीको रूपमा मूल्याङ्कन गरेका छन्।
केंद्रका निर्देशक डा. सर्वेश शर्माका अनुसार, सरकारले एड्स संक्रमितलाई नियमित निगरानीमा राख्न नसक्नुमा केही कमजोरी देखिएको छ। “कतिपयले आफ्नो नाम, फोन नम्बर वा ठेगाना परिवर्तन गर्छन्, कतिपय स्थान परिवर्तन गरेर बसाइँसराइ गर्छन्। संक्रमितले खुलेर उपचार नलिनु ठूलो समस्या हो,” डा. शर्मा भन्छन्।
नेपालमा हरेक दिन करिब १.७ जना व्यक्ति एचआईभी संक्रमित हुँदै आएका छन्। सरकारले एचआईभी संक्रमितका लागि निःशुल्क औषधि उपचारको व्यवस्था गरेको भए तापनि, संक्रमित खुलेर उपचारमा नआउँदा संक्रमण नियन्त्रणमा चुनौती थपिएको छ।
डा. शर्माले थपे, “समयमै बिरामी पत्ता नलगाए एचआईभी नियन्त्रण गर्न कठिनाइ हुन्छ। जति ढिला पत्ता लाग्छ, बिरामीले अरुलाई संक्रमण सर्न सक्छन्, जसले संक्रमण फैलिन सक्छ।”
एचआईभी संक्रमण मुख्यतया सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने व्यक्ति, यौनकर्मी र तिनका ग्राहक, पुरुष समलिंगी तथा तेस्रोलिंगी, वैदेशिक रोजगारीमा गएका कामदार तथा उनीहरूको दम्पती र जेलमा रहेका कैदीहरूमा बढी देखिन्छ।
नेपाल सरकारले २०२१–२०२६ का लागि उच्च जोखिम समूहलाई लक्षित एचआईभी रोकथाम र उपचार कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर, हाल ७७ प्रतिशत संक्रमितको पहिचान, ८७ प्रतिशत उपचार र ७१ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको तथ्यांक छ। २०३० सम्ममा एचआईभी/एड्स निर्मूल गर्ने लक्ष्य राखिएको छ।
एचआईभी संक्रमितको जीवन यथासम्भव सामान्य बनाउन समयमै परीक्षण, नियमित औषधि सेवन र स्वास्थ्य हेरचाह आवश्यक छ। डा. शर्मा भन्छन्, “एचआईभी संक्रमितलाई सहानुभूति होइन, सम्मानका साथ हेर्नुपर्छ। यो अन्त्य होइन, जीवनको नयाँ सुरुवात हो।”
नेपालसहित विश्वभरि १ डिसेम्बर, आइतबार ३८ औं विश्व एड्स दिवस “अवरोध पार गरौं, एड्स प्रतिकार्य रुपान्तरण गरौं” भन्ने नाराका साथ मनाइँदैछ।



Leave a Reply