२१ चैत, काठमाडौं – नेपाली कांग्रेसले आज (शनिबार)देखि आफ्नो १५औं महाधिवेशनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ। पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन असोज १६–१९ मा सम्पन्न गर्ने निर्णय गर्दै कार्यतालिका पारित गरेको थियो।
कार्यतालिकाअनुसार, २१ चैतदेखि मसान्तसम्म केन्द्रबाट सदस्यता फारम वडातर्फ पठाइनेछ र १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइनेछ। सदस्यता वितरणका लागि खटिने प्रतिनिधिहरूको लागि शनिबार दिउँसो २ बजे सानेपामा ‘आरेन्टेसन’ राखिएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले प्रतिनिधिहरूको नाम आरेन्टेसनपछि सार्वजनिक गरिने बताए।
साना जिल्लामा एक जना र ठूला जिल्लामा दुई जना प्रतिनिधि खटिनेछन्। महाधिवेशनका लागि १ वैशाखदेखि मसान्तसम्म क्रियाशील सदस्यता वितरण र अद्यावधिक अभियान चलाइनेछ। सदस्यता अद्यावधिक अभियानको अवधि एक महिना रहनेछ।
वडाहरूले अद्यावधिक सदस्यता १५ जेठसम्म प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पठाइसक्नुपर्नेछ। त्यसपछि केन्द्रले सदस्यताको आवश्यक छानबिन गरेर अन्तिम निर्णय १५ असारसम्म गर्ने कार्यतालिका तय गरेको छ।
कांग्रेसले यस महाधिवेशनमार्फत पार्टीको सदस्यतालाई अद्यावधिक गर्दै लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउने उद्देश्य राखेको छ।

