लन्डन, माघ २० — बेलायतमा अध्ययनरत एक नेपाली विद्यार्थीको उपचारका क्रममा निधन भएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी–१० घर भएका २२ वर्षीय विवेकानन्द मण्डल को सन्डरल्याण्ड रोयल अस्पतालमा निधन भएको एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी ले जानकारी दिएका छन्।
मण्डल सन् २०२३ सेप्टेम्बरमा कम्प्युटर साइन्स विषयमा स्नातक तह अध्ययनका लागि बेलायत आएका थिए। पछिल्ला केही महिनादेखि उनी फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित रहेको बताइएको छ।
आइतबार श्वासप्रश्वासमा समस्या बढेपछि उनले छिमेकी गरिमा मल्ललाई फोनमार्फत जानकारी गराएका थिए। अस्पताल जान सुझाव पाएपछि सन्डरल्याण्ड रोयल अस्पताल पुगेका उनलाई सघन उपचार कक्ष (आईटियू) मा राखेर उपचार थालिएको थियो। तर सोमबार चिकित्सकले उनलाई मृत घोषणा गरेका पुडासैनीले बताए।
परिवारको आग्रहअनुसार शव नेपाल पठाउने प्रक्रिया सुरु गरिने पनि उनले जानकारी दिए।
मण्डल अध्ययन पूरा नगरी नेपाल फर्कने तयारीमा रहेका थिए। विश्वविद्यालयको करिब तीन हजार पाउण्ड शुल्क बाँकी रहेकाले उनी निष्कासनमा परेको बताइएको छ। उनको बेलायत बसाइ अनुमति अवधि १४ फेब्रुअरी २०२६ सम्म कायम रहेको उल्लेख छ।
विद्यार्थीलाई स्वास्थ्यप्रति सजग हुन आग्रह
एनआरएनए यूके अध्यक्ष पुडासैनीले बेलायतमा रहेका नेपाली विद्यार्थीलाई स्वास्थ्यप्रति सचेत रहन आग्रह गरेका छन्। समस्या देखिए तुरुन्त अस्पताल जान, जीपी (डाक्टर) मा दर्ता गर्न ढिलाइ नगर्न उनले सुझाव दिए।
उनले आर्थिक, मानसिक र सामाजिक चुनौतीका कारण विदेशमा अध्ययनरत विद्यार्थीले अपेक्षाभन्दा फरक परिस्थितिको सामना गर्नुपरेको उल्लेख गर्दै समुदायस्तरमा जनचेतना आवश्यक रहेको बताए।

