१७ मंसिर, जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि प्रदेशसभाको बैठक बिहान ८:३० बजेका लागि बोलाइएको हो।
पूर्वमुख्यमन्त्री तथा लोसपा नेता जितेन्द्र सोनलले गत कात्तिक २२ गते विश्वासको मत नपाउने भएपछि राजीनामा दिएपछि धारा १६८(३) बमोजिम एमाले संसदीय दलका नेता यादव कात्तिक २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए। तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिवासस्थित होटलमा बिहान झिसमिसेमै उनले शपथ गराएपछि विवाद समेत उत्पन्न भएको थियो। सो घटनाविरुद्ध परेको रिटमा सर्वोच्चले मंसिर १५ गते परमादेश जारी गर्दै यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएको थियो।
सत्ता समीकरण: एमाले कमजोर, गठबन्धन मजबुत
१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकारलाई बचाउन ५४ मत आवश्यक छ। तर एमालेसँग सभामुखसहित २५ सांसद मात्र छन्, जसमा एक निलम्बित छन्। एमालेको समर्थनमा नेपाल संघीय समाजवादी र राप्रपाका एक–एक सांसद छन्। तर राप्रपाले पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएकी मन्त्री कञ्चन बिच्छाको सांसद पद खारेजी प्रक्रियासमेत अघि बढाइसकेको छ, जसले एमाले पक्ष झनै कमजोर देखिन्छ।
तर विपक्षी सात दलीय गठबन्धनसँग ७३ सांसद छन्।
गठबन्धनको संरचना यसप्रकार छ—
कांग्रेस: २२
जसपा नेपाल: १८
जनमत पार्टी: १३
माओवादी केन्द्र: ९
लोसपा: ८
एकीकृत समाजवादी: ७
नागरिक उन्मुक्ति पार्टी: १
यदि यो गठबन्धन एकताबद्ध रहे भने मुख्यमन्त्री यादवले आज विश्वासको मत जुटाउन कठिन देखिन्छ।



Leave a Reply