गणेश नेपालीको मृत्युपछि आक्रोश: तीन नगर प्रहरी नियन्त्रणमा, माइतीघरमा प्रदर्शन, वीर अस्पतालमा सुरक्षा कडा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, असार २६ — राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान वीर अस्पतालमा मृत्यु भएपछि काठमाडौंमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। घटनाको अनुसन्धानका लागि काठमाडौं महानगरपालिकाका तीन जना नगर प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने माइतीघर मण्डलामा युवाहरूले विरोध प्रदर्शन गरेका छन्।
वीर अस्पतालका अनुसार बर्न भेन्टिलेटरमा उपचाररत नेपालीलाई शुक्रबार बिहान ११:१९ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। उनको मृत्युको खबर सार्वजनिक भएपछि आफन्त, शुभेच्छुक र सर्वसाधारण अस्पताल परिसरमा भेला भएका थिए। सम्भावित अप्रिय अवस्था रोक्न अस्पताल परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ।
यसैबीच, घटनाको अनुसन्धानका लागि काठमाडौं महानगरपालिकाका दुई महिला र एक पुरुष नगर प्रहरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरूलाई कालीमाटी प्रहरी वृत्तमा राखी सोधपुछ तथा अनुसन्धान भइरहेको छ।
प्रारम्भिक जानकारीअनुसार बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गणेश नेपालीको मोटरसाइकलमा नगर प्रहरीले ‘ह्विल लक’ लगाएपछि विवाद भएको थियो। त्यसपछि उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। घटनाको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ भने आफन्तले नगर प्रहरीसँगको विवादपछि आत्मदाहको प्रयास भएको दाबी गरेका छन्।
गणेश नेपालीको मृत्युको विरोधमा शुक्रबार माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र राज्यको जिम्मेवारी सुनिश्चित गर्न माग गर्दै नाराबाजी गरेका थिए।
प्रदर्शनका क्रममा “बालेन तिम्रो झिकै झिकै माया, गणेशको आत्मदाह थियो”, “राज्य आतंक मुर्दावाद”, “हत्यारा सरकार मुर्दावाद” लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएका थिए। केही प्रदर्शनकारीले काठमाडौं महानगरपालिका र राज्य संयन्त्रप्रति असन्तुष्टि व्यक्त गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ भने मृतकका परिवारले निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन्।

Leave a Comment