२३ मंसिर ,काठमाडौँ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले देशभर मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु गर्ने भएको छ। आयोगले जारी गरेको विज्ञप्तिमा मङ्सिर २६ गतेसम्म अनलाइनमार्फत दाबी–विरोध, विवरण सच्याइ तथा उजुरी दर्ता गर्न सकिने जानकारी दिएको छ।
आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार २०८२ भदौ ५ गतेसम्म संकलित मतदाता विवरणलाई आधार बनाएर अद्यावधिक प्रक्रिया अघि बढाइनेछ। प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने सबै नागरिक योग्य मतदाता मानिने आयोगले स्पष्ट गरेको छ।
अद्यालयमा दाबी–विरोध प्रक्रिया
संकलित मतदाताको नामावली आयोगको वेबसाइटमा सार्वजनिक गरिनेछ।
नाम, ठेगाना वा अन्य विवरणमा त्रुटि भए मङ्सिर २६ गतेसम्म अनलाइनमा निवेदन दिन सकिनेछ।
झूटो विवरणका आधारमा नाम दर्ता भएको भए विरोधमा उजुरी दिन सकिने व्यवस्था आयोगले गरेको छ।
एउटै व्यक्तिको नाम विभिन्न स्थानमा परेमा एक मात्रै स्थानमा राख्न अनुरोध गरिएको छ।
मृतक तथा नागरिकता त्याग गरेका व्यक्तिहरूको नाम हटाउन सूचनाको माग गरिएको छ।
सबै दाबी–विरोध प्रक्रिया सम्पन्न भएपछि आयोगले अन्तिम मतदाता नामावली प्रकाशित गर्नेछ।
मतदान स्थल छनोटमा अनलाइन सुविधा
आयोगले यसपटक मतदान स्थल व्यवस्थापनमा समेत सुधार गरेको छ। मतदाताले आफ्नो वडाभित्रका विभिन्न मतदान स्थलमध्ये सुविधाजनक स्थान स्वतः छनोट गरी अनलाइनमार्फत निवेदन दिन सक्ने सुविधा थप गरिएको छ।
आयोगले मतदाता नामावलीलाई अझ शुद्ध, विश्वसनीय र त्रुटीरहित बनाउन सबै मतदाता तथा सरोकारवालाको सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।

