आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था अझै गम्भीर, भारत लैजाने योजना तत्कालका लागि स्थगित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, असार २६ — राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि थप उपचारका लागि भारत लैजाने तयारी तत्कालका लागि रोकिएको छ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाएका सोरु गाउँपालिका–१, मुगुका गणेश नेपाली हाल वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत छन्। उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।
प्रारम्भिक योजना अनुसार उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजाने सम्पूर्ण तयारी सरकारले पूरा गरेको थियो। एयर एम्बुलेन्सको व्यवस्था गरिएको थियो भने भारत पुगेपछि अस्पतालसम्म पुर्‍याउने व्यवस्थासमेत मिलाइएको थियो। सरकारले उपचारको सम्पूर्ण खर्च पनि व्यहोर्ने निर्णय गरेको छ।
तर उपचारमा संलग्न चिकित्सकहरूले बिरामीको अवस्था अत्यन्त संवेदनशील रहेकाले अहिले स्थानान्तरण गर्दा ज्यानमा थप जोखिम हुन सक्ने सुझाव दिएका छन्। त्यसपछि उनलाई तत्काल भारत नलैजाने निर्णय गरिएको हो।
चिकित्सकहरूका अनुसार स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र विदेश लैजानेबारे पुनः निर्णय गरिनेछ। हाल उनको रक्तचाप नियन्त्रणमा राख्ने तथा स्वास्थ्य अवस्था स्थिर बनाउने प्रयास भइरहेको छ।
वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा डा. अपार लामिछाने, डा. निर्मण ज्ञवाली, डा. जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठसहित २१ सदस्यीय विशेषज्ञ टोली उनको उपचारमा निरन्तर खटिएको छ।
यसैबीच, गृहमन्त्री सुधन गुरुङ तथा प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका सदस्यहरू पनि आवश्यक समन्वयका लागि वीर अस्पतालमा तयारी अवस्थामा रहेका छन्। चिकित्सकहरूले गणेश नेपालीको स्वास्थ्य अवस्थालाई निरन्तर निगरानीमा राखेर उपचार गरिरहेका छन्।

Leave a Comment