२१ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शीतलनिवासमा आयोजित कार्यक्रममा यादवलाई शपथ खुवाएका हुन्।
कांग्रेस संसदीय दलका नेता यादव मंसिर १९ गते सात दलका ७७ प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, तत्कालीन नेकपा (माओवादी केन्द्र), लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदहरूले समर्थन गरेका छन्।
यादव मंसिर २४ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा छन्।
यसअघि मुख्यमन्त्री रहेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा गरेपछि मधेश प्रदेश सरकारको नेतृत्व कांग्रेसका यादवको जिम्मामा गएको हो।
गत कार्तिक २३ गते संविधानको धारा १६८(३) बमोजिम एमालेका यादव मुख्यमन्त्री नियुक्त भएको विषयमा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएको थियो।
राजीनामापछि गठबन्धन दलहरूले कृष्णप्रसाद यादवलाई नयाँ मुख्यमन्त्रीका रूपमा चयन गरेका हुन्। उनले शपथपछि आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरिरहेको बताइएको छ।

