२४ भदौ, बारा ।
बारा जिल्लाको सदरमुकाम कलैयामा आज बिहानदेखि स्थानीय युवाहरूले टायर बालेर सरकारविरुद्ध आक्रोशपूर्ण प्रदर्शन गरेका छन्। कलैयाको भरतचोकमा भेला भएका उनीहरूले “हत्यारा सरकार मुर्दाबाद,” “विद्यार्थी मार्न पाइँदैन,” र “केपी ओली राजीनामा दे” जस्ता नाराबाजी गर्दै विरोध जनाएका हुन्।
प्रदर्शनकारीहरूले सोमबार जेनजी आन्दोलनका क्रममा प्रहरीको अत्यधिक बल प्रयोगका कारण १९ जना युवाको ज्यान गएको दाबी गर्दै त्यसप्रति रोष प्रकट गरेका छन्। उनीहरूले उक्त घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने र मृतकहरूलाई सहिद घोषणा गर्नुपर्ने माग गरेका छन्। साथै, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आवाज समेत उठाइएको छ।
स्थानीय स्रोतका अनुसार प्रदर्शन निरन्तर जारी छ भने त्यहाँको वातावरण तनावग्रस्त बनेको छ।


