भृकुटीमण्डपमा एमाले बन्दसत्र : इतिहास अवलोकनदेखि ‘टिकटक पार्क’सम्मको नयाँ प्रयोग

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

२८ मंसिर ,काठमाडौं । नेकपा एमालेले भृकुटीमण्डपमा आयोजना गर्न लागेको बन्दसत्रलाई यसपटक फरक ढंगले प्रस्तुत गर्ने तयारी गरेको छ । बन्दसत्र स्थललाई केवल बैठक केन्द्रमा सीमित नराखी पार्टीको राजनीतिक यात्रा, संगठन संरचना र आधुनिक प्रविधिसँग जोडिने गतिविधिसमेत समेटिएको छ ।

प्रदर्शनीमार्गसँगै जोडिएको मुख्य प्रवेशद्वारलाई आकर्षक स्वरूप दिँदै ‘गोल्डेन गेट’ नामाकरण गरिएको छ । यही गेटबाट प्रवेश गरेपछि प्रतिनिधिहरु सिधै बगैंचाभित्र प्रवेश गर्नेछन्, जहाँ नेपाल कम्युनिस्ट पार्टी स्थापनादेखि हालसम्मको एमालेको राजनीतिक यात्रालाई देखाउने जानकारीमूलक सामग्रीहरु राखिएका छन् ।

बगैंचाभित्र पार्टीको इतिहाससँगै एमालेका विभिन्न जनसंगठनहरुको अवस्था र भूमिकाबारे जानकारी दिने सामग्री प्रदर्शन गरिएको छ । यसले प्रतिनिधिहरुलाई संगठनात्मक संरचना र पार्टीको विकासक्रम बुझ्न सहयोग पुग्ने आयोजक समितिको विश्वास छ ।

यसपटक बन्दसत्रमा आकर्षणको केन्द्र बनेको छ— ‘टिकटक पार्क’ । प्रतिनिधिहरुले फोटो खिच्न, टिकटक तथा छोटा भिडियो सामग्री बनाउन सक्ने गरी विशेष स्थान छुट्याइएको छ । आधुनिक सञ्चार माध्यमलाई पार्टी गतिविधिसँग जोड्ने प्रयासका रूपमा यसलाई हेरिएको छ ।

बन्दसत्रका लागि भृकुटीमण्डपको खुला चौरमा टेन्ट हालेर ठूलो हल निर्माण गरिएको छ, जहाँ २ हजार २६२ जना प्रतिनिधि अट्ने व्यवस्था गरिएको छ । खानपानको व्यवस्था भने प्रदर्शनी कक्षको हलमा गरिएको छ ।

उद्घाटन मञ्च तथा बन्दसत्र हल व्यवस्थापनको जिम्मेवारी लिएका आयोजक समितिका सदस्य विनोद श्रेष्ठका अनुसार प्रतिनिधिहरुको रिफ्रेसमेन्टदेखि पार्टी इतिहास अवलोकनसम्म सबै पक्षलाई व्यवस्थित बनाइएको छ ।

हिजो भक्तपुरको सल्लाघारीमा महाधिवेशनको औपचारिक उद्घाटन गरेको एमालेले आजबाट बन्दसत्रमार्फत नेतृत्व चयन र आगामी राजनीतिक कार्यदिशामाथि गहन छलफल गर्ने तयारी गरेको छ ।

Leave a Comment