काठमाडौँ, कात्तिक १९
माओवादी केन्द्रसहित नौ वाम दलबीचको पार्टी एकतासँगै नेपालका वामपन्थी राजनीति फेरि नयाँ मोडमा पुगेको छ। वाम एकताको घोषणाले नेकपा (एकीकृत समाजवादी) तीन धारमा विभाजित भएको छ—एक समूह माओवादी केन्द्रसँग एकीकृत भई नवगठित ‘नेपाली कम्युनिस्ट पार्टी’ मा प्रवेश गरेको छ, अर्को समूह महासचिव घनश्याम भुसाल नेतृत्वमा पुरानो पार्टीलाई निरन्तरता दिने भएको छ भने तेस्रो धारका रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ नेतृत्वको टिम एमालेमा फर्कने तयारीमा लागेको छ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेतृ रामकुमारी झाँक्री र नेता कृष्णकुमार श्रेष्ठ ले आफूहरू ‘पुरानै घर’ नेकपा (एमाले) फर्कने घोषणा गरे। श्रेष्ठले “हामीले पसिना बगाएको, जीवन अर्पण गरेको मूल पार्टीमा फर्कँदैछौँ” भनेका थिए भने झाँक्रीले “विचार र सिद्धान्त मिल्ने दलसँग नै एकताबद्ध भएर अघि बढ्ने” बताइन्। उनीहरूसहित अम्बरबहादुर थापा, डा. वंशीधर मिश्र, होमबहादुर बुढाथोकी, पीताम्बर श्रेष्ठ र अर्जुन राई पनि एमाले फर्कने समूहमा छन्।
एमाले नेतृत्वले फर्कन चाहनेहरूलाई व्यक्तिगत रूपमा मात्र स्वागत गर्ने नीति लिएको छ। महासचिव शंकर पोखरेल ले “नीति र नेतृत्वमा सहमत हुने जो कोहीलाई एमालेको ढोका खुला छ” भनेका छन्। सचिव पद्मा अर्याल का अनुसार फर्किएपछि मात्रै जिम्मेवारीका विषयमा निर्णय हुनेछ। झाँक्रीले पनि पार्टीको निर्णय र नीति निःशर्त स्वीकार्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
नयाँ वाम एकता : ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन
यस्तै, सोही दिन काठमाडौंमा आयोजित वाम एकता राष्ट्रिय सम्मेलन बाट माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य नौ वाम दलहरू एकीकृत भई नयाँ ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरिएको छ। पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाल चयन भएका छन्।
संयोजक प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्दै भने, “राष्ट्रिय सङ्कट हलका लागि वाम र देशभक्त शक्तिहरूबीच एकता भएको हो। यो एकताले नयाँ राष्ट्रिय एकताको आधार तयार गरेको छ।” उनले पार्टीलाई लोकतान्त्रिक, राष्ट्रिय र जनमुखी बनाउने प्रतिबद्धता जनाए।
सहसंयोजक माधवकुमार नेपालले नवगठित पार्टीलाई नेपाली कम्युनिस्ट आन्दोलनको ‘मूल प्रवाह र जनताको आशा र भरोसाको केन्द्र’ बनाउने बताएका छन्। “आज हामीले एतिहासिक काम सम्पन्न गरेका छौँ, यसले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याउनेछ,” उनले भने।
पृष्ठभूमि र प्रभाव
जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक पुनर्संरचनाको चरणमा वाम शक्तिहरूबीच पुनः ध्रुवीकरण भएको हो। पुराना दलहरूको प्रभाव घट्दै जाँदा माओवादी केन्द्र र समाजवादीबीचको एकताले वाम राजनीति फेरि केन्द्रमा ल्याएको छ भने एमालेले पनि पूर्व नेताहरूलाई ‘घर फर्कने’ आह्वान गर्दै आफ्ना प्रभाव क्षेत्र मजबुत बनाउन खोजेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यी घटनाहरूले वाम राजनीति पुनः ध्रुवीकृत र प्रतिस्पर्धी दुवै दिशामा अघि बढेको संकेत गर्छ। नयाँ एकता र पुरानामा फर्कने अभियानबीचको सन्तुलनले आगामी निर्वाचनमा शक्ति समीकरण निर्धारण गर्ने देखिन्छ।



Leave a Reply