एमाले महाधिवेशनः ओली र पोखरेल समूहले सार्वजनिक गरे पदाधिकारी प्यानल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, २९ मंसिर
नेकपा एमालेको एघारौं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्रका मुख्य दुई समूह—केपी शर्मा ओली र ईश्वर पोखरेल समूह—ले आ–आफ्ना पदाधिकारी उम्मेदवारको सूची अन्तिम चरणमा पुर्‍याएका छन्। दुवै समूहले नेतृत्वदेखि सचिवसम्मको प्यानल लगभग टुंग्याइसकेका छन्।

पोखरेल समूहः अध्यक्षमा ईश्वर, महासचिवमा सुरेन्द्र

ईश्वर पोखरेल नेतृत्वको समूहले अध्यक्ष पदमा स्वयं ईश्वर पोखरेललाई अघि सारेको छ भने महासचिवमा सुरेन्द्र पाण्डेको नाम निश्चित भएको छ।

उपाध्यक्ष पदका लागि गोकर्ण विष्ट, परशुराम मेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने लगभग पक्का भएको नेताहरूले बताएका छन्।

उपमहासचिवमा योगेश भट्टराई र बैजनाथ चौधरीको नाम अगाडि सारिएको छ। सचिव पदका लागि भने रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलसहितको सूची तयार भएको छ। यस समूहले कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटालाई पनि सचिवको सम्भावित उम्मेदवारमा राखेको छ।

ओली समूहः अध्यक्षमा ओली, महासचिवमा शंकर

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको समूहले पनि पदाधिकारीको सूची करिब अन्तिम रूप दिएको छ। अध्यक्ष पदमा ओली आफैं उम्मेदवार हुने भएका छन् भने महासचिवमा शंकर पोखरेल दोहोरिने निश्चित देखिएको छ।

उपाध्यक्ष पदमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङको नाम टुंगिएको छ। यद्यपि प्रदीप ज्ञवालीको विषयमा ओली समूहभित्र अझै छलफल जारी छ।

उपमहासचिवमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम फाइनल गरिएको छ। सचिव पदका लागि शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम तय भएको स्रोतले जनाएको छ।

स्वतन्त्र उम्मेदवारीको तयारी

दुवै समूहको प्यानलमा नपरेका केही नेताहरूले भने स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी थालेका छन्। यसले महाधिवेशनको चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने संकेत देखिएको छ।

Leave a Comment