३ मंसिर,काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनबाट चयन भएको १९ सदस्यीय पदाधिकारी संरचनामा अध्यक्ष केपी शर्मा ओलीसहित उनका पक्षधरको स्पष्ट वर्चस्व देखिएको छ। निर्वाचन परिणामअनुसार पदाधिकारीमध्ये १७ जना ओली समूहबाट निर्वाचित हुँदा पराजित अध्यक्ष उम्मेदवार ईश्वर पोखरेल पक्षबाट मात्र दुई जना पदाधिकारी बन्न सफल भएका छन्।
अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन् भने महासचिवमा शंकर पोखरेलले निरन्तरता पाएका छन्। उपाध्यक्षका पाँच पदमध्ये चार ओली समूहले जित्दा पोखरेल प्यानलबाट गोकर्णराज विष्ट मात्र निर्वाचित भए। उपमहासचिवमा लेखराज भट्ट र रघुवीर महासेठ ओली समूहबाट तथा योगेश भट्टराई पोखरेल प्यानलबाट निर्वाचित भए।
नौ सदस्यीय सचिव पदमा भने सबै उम्मेदवार ओली समूहकै निर्वाचित भएका छन्। सचिवमा निर्वाचित हुनेहरूमा महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल रहेका छन्।
यसपटकको नेतृत्व चयनमा महिला प्रतिनिधित्व अत्यन्त न्यून देखिएको छ। १९ सदस्यीय पदाधिकारीमा पद्माकुमारी अर्याल एक्लो महिला पदाधिकारी बनेकी छन्। सचिव पदमा २० जनाबीच भएको प्रतिस्पर्धामा अर्याल दोस्रो स्थानमा रहँदै निर्वाचित भएकी हुन्। सचिव पदमा प्रतिस्पर्धा गरेकी अन्य दुई महिला उम्मेदवार रचना खड्का र पेम्बा लामा पराजित भएका छन्।
महिलाको उम्मेदवारी परेको अर्को पद उपाध्यक्ष थियो, जहाँ बिन्दा पाण्डे पराजित भइन्। अध्यक्ष, महासचिव र उपमहासचिव पदमा भने महिलाको उम्मेदवारी नै परेको थिएन।
एमाले विधानअनुसार पदाधिकारीमा कम्तीमा एक महिला अनिवार्य हुने व्यवस्था अनुसार पद्मा अर्यालको निर्वाचितिले प्राविधिक रूपमा त्यो व्यवस्था पूरा भए पनि समग्र नेतृत्व संरचनामा महिला सहभागिता न्यून रहेको भन्दै पार्टीभित्रै प्रश्न उठ्न थालेका छन्।
महाधिवेशनबाट आएको परिणामले पार्टी नेतृत्वमा ओलीको पकड थप बलियो बनाएको देखिन्छ भने समावेशिताको सवाल आगामी दिनमा एमालेभित्र छलफलको विषय बन्ने संकेत देखिएको छ।

