काठमाडौं, फागुन ३० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ पठाइने उम्मेदवार सिफारिस गर्न बैठक बोलाइएको हो।
पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालय बैठक बस्न लागेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। उनका अनुसार बैठकको समय र स्थान भने अझै तय भएको छैन।
बैठकमा समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषय मुख्य एजेन्डा रहनेछ। साथै पार्टीको विधान संशोधन र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ।
स्रोतका अनुसार पार्टी विधान संशोधन गरी वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउने विषयमा पनि छलफल हुन सक्ने बताइएको छ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले समानुपातिकतर्फ उल्लेखनीय मत प्राप्त गरेपछि संसदमा पठाइने प्रतिनिधिको नाम टुंग्याउने प्रक्रिया अघि बढाइएको हो।

