मिति: २३ माघ २०८२, शुक्रबार
स्थान: विराटनगर
नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको शुक्रबार राति निधन भएको छ।
मोरङको बिराटचोकमा भएको समन्वय बैठकमा नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का अधिकारीहरू सहभागी थिए। बैठकको समयमा अचानक बेहोस भएका घिमिरेलाई विराट मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। राति ८:५२ बजे उनको मृत्यु भएको पुष्टि भएको छ।
सशस्त्र प्रहरी बल नम्बर १, बराह बाहिनीका डीआईजी कुमार न्यौपानेले निधनको पुष्टि गरेका छन्। चिकित्सकका अनुसार घिमिरेलाई उच्च रक्तचापको समस्या थियो। बैठकको क्रममा ढलेका उनलाई जिब्रो काटिएको थियो र स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियो।
घिमिरेको आकस्मिक निधनले सीमा सुरक्षा समन्वय बैठकमा सहभागी सबैमा गहिरो शोक फैलाएको छ।

