काठमाडौं, वैशाख १५ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले मातहतका निकायमा दुरुपयोग भइरहेको सरकारी सवारी साधन फिर्ता ल्याउने अभियान सुरु गरेको छ। मन्त्री निशा मेहता को निर्देशनपछि यस्तो कदम चालिएको हो।
मन्त्रालयका अनुसार सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गर्दै आएको गुनासो आएपछि छानबिन अघि बढाइएको थियो। त्यसपछि दुरुपयोगमा परेका सवारी साधन तत्काल मन्त्रालयमा फिर्ता ल्याउन निर्देशन दिइएको हो।
फिर्ता ल्याइएका गाडीहरू हाल मन्त्रालय परिसरमै राखिएको छ। अब ती सवारी साधन आवश्यकताको आधारमा र कानुनी व्यवस्था अनुसार मात्रै प्रयोग गरिने मन्त्रालयले जनाएको छ।
सरकारी नियमअनुसार सहसचिव वा सोभन्दा माथिल्लो तहका पदाधिकारीलाई मात्रै सवारी सुविधा उपलब्ध हुने व्यवस्था छ। मन्त्रालयले अब यस्तो व्यवस्था कडाइका साथ कार्यान्वयन गर्ने संकेत दिएको छ।
यस कदमलाई सरकारी सम्पत्तिको दुरुपयोग रोक्ने र प्रशासनिक अनुशासन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।
दुरुपयोगमा परेका सरकारी गाडी फिर्ता, स्वास्थ्य मन्त्रालयको कडाइ
Leave a Comment
Leave a Comment

