२५ माघ २०८२, आइतबार
काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा वैदिक शिक्षाबाट प्रेरित रहेको बताएका छन्। झापामा आयोजित एक धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त अवधारणा कुनै नयाँ राजनीतिक नारा नभई हाम्रा वेदहरूले दिएको मानवतावादी सन्देश भएको स्पष्ट पारे।
उनले वेदमा उल्लेख गरिएको ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु’ मन्त्र उद्धृत गर्दै सबै मानिस सुखी होऊन्, निरोगी रहून् र कसैलाई पनि दुःख नपरोस् भन्ने भावनाबाटै ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सोच जन्मिएको बताए।
‘मैले नेपाल कस्तो हुनुपर्छ भनेर सोच्दा देश समृद्ध होस् र नेपाली जनता सुखी बनून् भन्ने चाहनालाई नारा बनाएको हुँ,’ ओलीले भने, ‘यो कुरा हाम्रा वेदहरूले धेरै पहिल्यै भनेका छन्।’
अध्यक्ष ओलीले नेपाली पूर्वजहरू विश्व सभ्यतामा ज्ञान, दर्शन र विज्ञानका क्षेत्रमा अगुवा रहेको दाबीसमेत गरे। उनका अनुसार शास्त्र निर्माणदेखि चिकित्सा विज्ञानसम्म नेपाली भूमिको महत्वपूर्ण योगदान छ। ‘त्रेतायुगमा ऋषि विश्वामित्रका छोरा सुश्रुत विश्वकै पहिलो सर्जन थिए। पहिलो शल्यक्रिया गर्ने पनि उनी नै हुन्,’ ओलीले उल्लेख गरे।
वेदको शिक्षाअनुसार सबै मानिस सुखी, सुरक्षित र भयमुक्त जीवन बाँच्न पाउन भन्ने आफ्नो चाहना रहेको ओलीले बताए। ‘कोही पनि अभाव, आपत् वा डर–त्रासको वातावरणमा नपरोस् भन्ने नै मेरो चाहना हो,’ उनले भने।

