काठमाडौँ । अस्ट्रेलियामा आम्दानी र घरभाडाबीचको अन्तर बढ्दै जाँदा सर्वसाधारणमाथि आवासको आर्थिक बोझ चर्किएको छ। नयाँ प्रतिवेदनले देशका प्रमुख राजधानी सहरहरूमा सामान्य आम्दानी हुने व्यक्तिका लागि समेत घरभाडा ठूलो वित्तीय चुनौती बनेको देखाएको छ।
आवास अधिकारका क्षेत्रमा काम गर्ने संस्था एभ्रिबडिज होमको अध्ययनअनुसार अस्ट्रेलियाका आठवटै राजधानी सहरमा औसत आम्दानी गर्ने व्यक्तिले एउटा युनिटको भाडा तिर्न आफ्नो कमाइको आधाभन्दा बढी रकम छुट्याउनुपर्छ।
आम्दानी कम हुँदै जाँदा अवस्था झन् कठिन देखिन्छ। वार्षिक ४० हजार अस्ट्रेलियाली डलर कमाउने व्यक्तिले औसत भाडाका लागि आफ्नो कुल आम्दानीको झण्डै ८९ प्रतिशत खर्च गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। ७० हजार डलर वार्षिक कमाइ हुनेका लागि पनि भाडाको हिस्सा ५६ प्रतिशत पुग्छ।
उच्च आम्दानी समूह पनि आवास खर्चबाट मुक्त छैन। वर्षमा १ लाख अस्ट्रेलियाली डलर कमाउने व्यक्तिको कमाइको करिब ४१ प्रतिशत रकम औसत भाडामै जाने अध्ययनले देखाएको छ।
सिड्नीमा भने आवासको दबाब अन्य प्रमुख सहरभन्दा बढी देखिएको छ। त्यहाँ ७० हजार डलर वार्षिक आम्दानी हुने व्यक्तिले आफ्नो कमाइको करिब ६९ प्रतिशत रकम साप्ताहिक भाडाका लागि खर्च गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनले जनाएको छ।
अस्ट्रेलियाली तथ्यांक विभागको विवरणअनुसार सन् २०२५ अगस्टसम्म देशमा कर्मचारीको औसत वार्षिक तलब ७४ हजार १०० अस्ट्रेलियाली डलर थियो। तर, तलबको ठूलो हिस्सा घरभाडामा खर्च हुन थालेपछि अन्य दैनिक आवश्यकताका लागि उपलब्ध रकम सीमित हुँदै गएको देखिन्छ।
एभ्रिबडिज होमकी प्रतिनिधि माई अजिजले आवास संकटको मुख्य कारणमध्ये सार्वजनिक तथा सामुदायिक आवास निर्माणमा सरकारको पर्याप्त लगानी नहुनुलाई औँल्याएकी छन्।
उनले संकट कम गर्न संघीय सरकारले सार्वजनिक र सामुदायिक आवास निर्माणलाई तीव्रता दिनुपर्ने बताएकी छन्। आगामी १५ वर्षमा अस्ट्रेलियालाई करिब १० लाख थप सार्वजनिक तथा सामुदायिक घर आवश्यक पर्ने उनको भनाइ छ।
अस्ट्रेलियामा घरभाडाको भार बढ्दो, तलबको ठूलो हिस्सा आवासमै सकिँदै
Leave a Comment
Leave a Comment

