ट्रम्प निवासमा छिरे हतियारधारीमाथि सुरक्षाकर्मीको गोली, घटनास्थलमै मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

११ फागुन २०८२, काठमाडौं।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को फ्लोरिडास्थित निजी निवास परिसरमा जबर्जस्ती प्रवेश गर्ने एक हतियारधारी व्यक्तिलाई अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेका छन्।

घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा रहेका थिए भने उनका परिवारका सदस्यहरू फ्लोरिडास्थित घरमै थिए। अधिकारीहरूका अनुसार परिवारका सबै सदस्य सुरक्षित छन्।

स्थानीय सुरक्षा अधिकारीका अनुसार ती व्यक्तिलाई अमेरिकी स्टेट सिक्रेट सर्भिस र पाम बीच काउन्टी शेरिफ कार्यालयका सुरक्षाकर्मीले रोक्ने प्रयास गरेका थिए। सुरक्षाकर्मीले हतियार छोड्न चेतावनी दिएका थिए। तर उनले पेट्रोलको डिब्बा भुइँमा राखे पनि शटगन चलाउन खोजेपछि सुरक्षाकर्मीले गोली चलाएका थिए।

पाम बीच काउन्टीका शेरिफ रिक ब्रेडशाले पत्रकार सम्मेलनमा घटनास्थलबाट शटगन र पेट्रोलको डिब्बा बरामद भएको जानकारी दिए। घटनामा कुनै सुरक्षाकर्मी घाइते भएका छैनन्।

बीबीसीका अनुसार ट्रम्पको निवास रहेको मार–आ–लागो क्षेत्रमा अत्यन्त कडा सुरक्षा व्यवस्था हुन्छ। बाहिरी सुरक्षा घेरा स्थानीय शेरिफ कार्यालयले र भित्री सुरक्षा सिक्रेट सर्भिसले सम्हाल्ने गर्छ। आगन्तुकहरूको कडा जाँच तथा सवारीसाधन र झोलाको मेटल डिटेक्टर र कुकुरमार्फत परीक्षण गरिन्छ।

यति कडा सुरक्षा हुँदाहुँदै संदिग्ध व्यक्ति भित्री क्षेत्रमा कसरी प्रवेश गर्‍यो भन्नेबारे अनुसन्धान भइरहेको छ। मारिएका व्यक्तिको पहिचान पनि खुलाइएको छैन।

यस घटनाले अमेरिकामा बढ्दो राजनीतिक हिंसाबारे पुनः चिन्ता बढाएको विश्लेषण गरिएको छ। राष्ट्रपति ट्रम्पमाथि यसअघि पनि आक्रमण प्रयास भएका थिए र हाल उनको सुरक्षा थप कडा बनाइएको छ।

Leave a Comment