राष्ट्रपति रनिङ सिल्डमा बागमतीको ऐतिहासिक सफलता, सुदूरपश्चिम उपविजेता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

ललितपुर, जेठ २३ — १६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि बागमती प्रदेशले जितेको छ। विद्यालय तहका प्रतिभाशाली खेलाडीहरूको सहभागितामा सम्पन्न प्रतियोगितामा बागमतीले २२ स्वर्ण, २१ रजत र १३ कांस्य पदकसहित समग्र टिम च्याम्पियन बन्न सफल भयो।
पदक तालिकामा १९ स्वर्ण, ९ रजत र १४ कांस्य जितेको सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा रह्यो भने १२ स्वर्ण, १५ रजत र १८ कांस्यसहित लुम्बिनी प्रदेश तेस्रो बन्यो। गण्डकी, कोशी, मधेश र कर्णाली क्रमशः चौथोदेखि सातौँ स्थानमा रहे।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सातै प्रदेशका ६ सय ८६ खेलाडीले एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा प्रतिस्पर्धा गरेका थिए।
भलिबलमा गण्डकी र बागमतीको बाजी
भलिबलतर्फ छात्र समूहमा गण्डकी प्रदेश र छात्रातर्फ बागमती प्रदेशले उपाधि जिते। दुवै टोलीले फाइनलमा लुम्बिनी प्रदेशलाई रोमाञ्चक पाँच सेटको प्रतिस्पर्धामा पराजित गर्दै स्वर्ण पदक आफ्नो नाममा लेखाए।
कबड्डीमा लुम्बिनीको दबदबा
कबड्डीतर्फ लुम्बिनी प्रदेशले छात्र र छात्रा दुवै स्पर्धामा स्वर्ण जित्दै उत्कृष्ट प्रदर्शन गर्‍यो। दुवै फाइनलमा बागमती प्रदेशलाई हराउँदै लुम्बिनीले दुई स्वर्ण पदक हात पार्यो।
उसुमा सुदूरपश्चिमको वर्चस्व
उसु प्रतियोगितामा सुदूरपश्चिम प्रदेश सबैभन्दा सफल टोली बन्यो। उसले ६ स्वर्ण, ३ रजत र १ कांस्य पदक जित्दै यस विधामा आफ्नो प्रभुत्व कायम राख्यो।
एथलेटिक्समा बागमतीको दबदबा
सबैभन्दा बढी स्वर्ण पदक एथलेटिक्सबाट बटुलेको बागमतीले ११ स्वर्ण जित्यो। सुदूरपश्चिमले ८ र लुम्बिनीले ५ स्वर्ण जित्दै पछ्याए। प्रतियोगिताको अन्तिम दिन विभिन्न दौड तथा फिल्ड इभेन्टमा खेलाडीहरूले उल्लेखनीय प्रदर्शन गरे।
तीन नयाँ जुनियर राष्ट्रिय कीर्तिमान
प्रतियोगितामा तीन नयाँ जुनियर राष्ट्रिय कीर्तिमानसमेत बने। बागमतीका अविनाश सुनारले छात्र हाइजम्पमा १.८६ मिटर उफ्रँदै आफ्नै कीर्तिमान सुधार गरे। बागमतीकी भगवती खड्काले छात्रा ४ सय मिटर दौडमा नयाँ कीर्तिमान बनाइन्। यस्तै गण्डकी प्रदेशको छात्र ४×४ सय मिटर रिले टोलीले पनि नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्‍यो।
तेक्वान्दोमा बागमती, करातेमा कोशी पहिलो
तेक्वान्दोतर्फ बागमती प्रदेश ५ स्वर्णसहित शीर्ष स्थानमा रह्यो। करातेमा भने कोशी प्रदेशले सर्वाधिक ३ स्वर्ण, ३ रजत र ३ कांस्य पदक जित्दै पहिलो स्थान हासिल गर्‍यो।
प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई करिब १२ लाख रुपैयाँ नगद पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ। आगामी १७औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता कोशी प्रदेशमा फागुन १९ देखि २२ गतेसम्म आयोजना गरिनेछ।

Leave a Comment