सुधन गुरुङबारे छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, जेठ २२ — पूर्व गृहमन्त्री तथा सुधन गुरुङ माथि लागेको आरोपबारे अनुसन्धान गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन शाह समक्ष बुझाएको छ।
समितिका संयोजक अच्युतप्रसाद भण्डारी ले छानबिन प्रक्रिया पूरा गरी ४५ पृष्ठको प्रतिवेदन सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिएका छन्। अब प्रतिवेदनमाथिको थप प्रक्रिया सरकारले अगाडि बढाउनेछ।
मन्त्रिपरिषद्को निर्णयअनुसार गठन गरिएको समितिले गुरुङमाथि लागेका आरोपबारे विभिन्न पक्षसँग जानकारी संकलन गर्नुका साथै उनको सम्पत्ति विवरण र आर्थिक गतिविधिसम्बन्धी कागजातको अध्ययन गरेको थियो। अनुसन्धानका क्रममा गुरुङसँग बयानसमेत लिइएको जनाइएको छ।
व्यवसायी दीपक भट्ट सँगको व्यावसायिक साझेदारी तथा सम्पत्ति विवरणमा सेयर लुकाएको आरोप सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले वैशाख २८ गते तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।
आरोपबारे निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले आफूले पद त्यागेको बताउँदै आएका गुरुङको विषयमा अब प्रतिवेदनले के निष्कर्ष निकालेको छ भन्ने चासो बढेको छ। प्रतिवेदन सार्वजनिक भएपछि मात्रै उनीमाथि लागेका आरोप पुष्टि भए वा नभएको स्पष्ट हुने अपेक्षा गरिएको छ।
गुरुङले राजीनामा दिएयता गृह मन्त्रालय प्रधानमन्त्री शाहकै प्रत्यक्ष मातहतमा सञ्चालन हुँदै आएको छ। छानबिनबाट उनी निर्दोष ठहरिए पुनः सरकारमा फर्किन सक्ने सम्भावनाबारे पनि राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।

Leave a Comment