पहाडी क्षेत्रमा आज होलीको रौनक, सार्वजनिक बिदा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, फागुन १८ — रंगहरूको पर्व होली आज काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली जिल्लाहरूमा उत्साहका साथ मनाइँदै छ। पर्वको अवसरमा सरकारले यी क्षेत्रमा सार्वजनिक बिदा दिएको छ।

परम्पराअनुसार फाल्गुण शुक्ल पूर्णिमाका दिन पहाड र हिमालमा तथा भोलिपल्ट तराई–मधेश क्षेत्रमा होली मनाउने चलन रहेको छ। आपसी सद्भाव, मेलमिलाप र उल्लासको प्रतीक मानिने यस पर्वमा मानिसहरू एकअर्कालाई अबिर र रंग लगाउँदै शुभकामना आदान–प्रदान गर्छन्।

धार्मिक विश्वासअनुसार असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको स्मरणमा होली मनाइने गरिन्छ। विभिन्न रंगीन कपडाले सजिएको ‘चीर’ स्थापना गरेपछि सुरु हुने पर्व पूर्णिमाको राति चीर दाहसँगै समापन हुन्छ।

यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल लगायत राष्ट्रिय नेतृत्वले शुभकामना सन्देश जारी गर्दै सभ्य र मर्यादित रूपमा पर्व मनाउन आग्रह गरेका छन्। सुरक्षा निकायले पनि होलीका नाममा उच्छृङ्खल गतिविधि नगर्न, जथाभावी रंग नदल्न र शान्ति–सुरक्षा कायम राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रहरीले चेतावनी दिँदै कानुनविपरीत कार्य गरेमा कारबाही हुने जनाएको छ।

Leave a Comment