काठमाडौं, १७ कात्तिक। सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मंगलबार बिहान फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टर अवतरण गर्ने क्रममा दुवैका पंखा आपसमा ठोक्किएपछि दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा भारतको तमिलनाडु राज्यको चेन्नई निवासी ४७ वर्षीय वसन्तकुमार बालारामाडुको मृत्यु भएको छ।
दुर्घटनामा भारतीय मूलका न्युजिल्यान्डका नागरिक ४९ वर्षीय सेलियसकुमार पटेल घाइते भएका छन्। उनलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकोप्टरका पंखा ठोक्किएर दुर्घटना भएको जानकारी दिएका छन्। घटनाबारे थप विवरण संकलन भइरहेको छ।

