काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्नेछन् भने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।
मंगलबार दिउँसो १२:३० बजे सुरु हुने पहिलो खेलमा विराटनगर दोस्रो जितको खोजीमा मैदान उत्रनेछ। तीन खेल खेलेको विराटनगरले अहिलेसम्म एक खेलमा मात्रै जित निकालेको छ।
यता जनकपुर बोल्ट्स भने उत्कृष्ट लय कायम राख्ने लक्ष्यमा हुनेछ। तीन खेल खेलेको जनकपुरले दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ। आजको खेल जित्दै जनकपुर लगातार तेस्रो जित निकाल्ने योजनामा छ।
त्यस्तै, आजै साँझ ५ बजे सुरु हुने दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सको सामना गर्नेछ। दुई खेल खेलेको लुम्बिनीले एक खेलमा जित निकालेको छ भने अर्को खेल वर्षाका कारण प्रभावित हुँदा दुवै टोलीले अंक बाँडेका थिए। लुम्बिनी आज आफ्नो लयलाई निरन्तरता दिने लक्ष्यसहित मैदानमा उत्रनेछ।
अर्कोतर्फ पोखरा एभेन्जर्सले दुई खेल खेल्दा पनि जित निकाल्न सकेको छैन। लगातार दुई हार बेहोरेको पोखरालाई प्रतियोगितामा आफ्नो स्थिति सुधार गर्न आजको खेल जित्नुपर्ने दबाब छ।
यसअघि सोमबार भएका खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई पराजित गरेको थियो भने सुदूरपश्चिम रोयल्सले चितवन राइनोजमाथि जित निकालेको थियो।

