हेटौंडा, २७ फागुन २०८२ — मकवानपुरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि अधिकांश उम्मेदवारले आवश्यक मत ल्याउन नसक्दा ठूलो संख्यामा जमानत जफत भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल ३४ जना उम्मेदवारले सदर मतको १० प्रतिशत पनि प्राप्त गर्न नसक्दा उनीहरूको धरौटी जफत भएको हो।
फागुन २१ गते सम्पन्न निर्वाचनमा मकवानपुर–१ का १८ जना र मकवानपुर–२ का १६ जना उम्मेदवार जमानत जफत हुने सूचीमा परेका छन्।
मकवानपुर–१ बाट अघिल्लो निर्वाचन जितेका राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले यसपटक आवश्यक मत कटाउन सकेनन्। उनले केवल ४ हजार ५७४ मत प्राप्त गरेका छन्, जबकि अघिल्लो निर्वाचनमा उनले २७ हजारभन्दा बढी मत ल्याएका थिए।
मकवानपुर–१ मा १३ राजनीतिक दल र १० स्वतन्त्र गरी २३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतमसहित पाँच जनाले मात्र जमानत जोगाएका छन्। जमानत जोगाउने अन्य उम्मेदवारमा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीना, नेकपा एमालेका रामेश्वर राना, नेकपाका विजय गौतम र उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामा रहेका छन्।
यस क्षेत्रमा कुल ९५ हजार ३१० मत खसेकोमा ९० हजार ७२५ मत सदर भएको थियो। तीमध्ये ११ जना उम्मेदवारले ५० मतसमेत कटाउन सकेनन्।
त्यस्तै मकवानपुर–२ मा कुल ९१ हजार २४१ मत खसेकोमा ८५ हजार ६१९ मत सदर भएको थियो। यस क्षेत्रमा १६ राजनीतिक दल र ५ स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।
यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशान्त उप्रेती विजयी भएका छन्। एमालेका महेश बर्तौला, कांग्रेसका बुद्ध लामा, नेकपाका लवशेर विष्ट र उज्यालो नेपाल पार्टीका प्रवीणकुमार स्याङ्तानले पनि जमानत जोगाउन सफल भएका छन्।
कानुनी व्यवस्थाअनुसार कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुन्छ। यस्तो अवस्थामा उम्मेदवारी दर्ता गर्दा बुझाइएको १० हजार रुपैयाँ राज्यकोषमा जम्मा हुने व्यवस्था छ।

